नेपालमा थप ४ सय ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार १ सय ६२ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ५० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ९९ हजार ७ सय ३७ काे पिसिआर विधि र २ लाख ८७ हजारकाे ८ सय ६३ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७४ हजार २२ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ४ सय ८६ जना आईसाेलेसनमा रहेका छन् ।
गण्डकी अस्पतालमा आकस्मिकबाहेकका अन्य सेवा बन्द
कास्की । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा आचार्यका अनुसार आज शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ । गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ –३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । आज बिहान ४ जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७ सय ५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् । रासस
स्याङ्जाका काेराेना संक्रमितकाे उपचारकाे क्रममा निधन
काठमाडाैं । स्याङ्जाका कोरोना संक्रमितको गए राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकाे क्रममा मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले प्रेस विज्ञप्ती जारी गर्दै गए राति ११:५५ मा उनको मृत्यु भएको जानकारी दिए । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ । गत असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेकाे अस्पतालका निर्देशक डाक्टर आचार्यले बताए । उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । हालसम्म गण्डकीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।