सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको शाखा आइतबारदेखि खुल्ने
काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो । उक्त शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि साे शाखा सिल गरिएको थियो । कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि इन्स्याेरेन्सले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेकाे हाे । इन्स्योरेन्सका अनुसार उक्त शाखा कार्यालयको नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाईका साथै संक्रमण रहित बनाइएको छ । यससँगै, आगामी जेठ ११ गतेदेखि सीमित कर्मचारीबाट उक्त शाखा सञ्चालन हुने र बीमितहरुले पूर्ववत रुपमा बीमा सेवा लिन सक्ने सिद्धार्थ इन्याेरेन्स कम्पनीले जनाएकाे छ । यस विषम परिस्थितिमा प्रभावकारी बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ । त्यस्तै, कोरोना देखिएको संक्रमित कर्मचारीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको इन्स्योरेन्सले जनाएको छ ।
मृतक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ
गुल्मी । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो । स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका छ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
भारतबाट आएकाको पिसीआर परीक्षण गरिँदै
काठमाडाैं । भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षणलाई प्राथमिकता दिने निर्णय गरेको हो । सोहीबमोजिम घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । बुधबार व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका-४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टिनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअगाडि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । भानु नगरपालिकामा ९, व्यास नगरपालिकामा २५, म्याग्दे गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा तीन र आँबुखैरेनी गाउँपालिकामा दुई गरी हाल ६२ जना क्वारेन्टिनमा छन् । जिल्लामा यसअगाडि ६७० को आरडिटी परीक्षण गरिएको छ ।