नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय नाघ्याे

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३६ जना कोरोना संक्रमित मानिस कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा २ हजार ८ सय २९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै शनिवार विहान १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल नेपालकाे ७७ वटै जिल्लामा काेराेना फैलिएकाे छ ।

कैलालीका कोराना संक्रमितको चितवनमा मृत्यु

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताए । उनका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।  रासस

संसारभर कोरोना संक्रमितको संख्या १ करोड नजिक, करिब ५ लाखको मृत्यु

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ९८ हजार ८३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९६ हजार ७२ जनाको मृत्यु भइसकेको छ भने ५३ लाख ५० हजार २ सय ५४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २७ हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ५२ हजार ७ सय ८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ भने अहिलेसम्म १५ हजार ६ सय ८९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ११ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ९८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)