कोभिड-१९ः विश्वभर एक सय ५८ नेपालीको मृत्यु
काठमाडाैं । कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड-१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणबाट मुक्त भएका छन् । रासस
४ सय ६३ जनामा देखियो कोराेना
काठमाडाैं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
इपानको निर्वाचनः कार्यसमिति एकातर्फ, असन्तुष्ट पक्ष अर्कैतिर
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को नयाँ नेतृत्वको लागि भोलि निर्वाचन हुने भएको छ । अध्यक्ष, पदाधिकारी र सदस्यसहित १५ सदस्यीय कार्यसमितिको निर्वाचनमा दुई समूह बनेर निर्वाचनको प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा कृष्ण आचार्य र सूर्य अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । आचार्य समूहको उम्मेदवारमा वर्तमान कार्यसमितिका अध्यक्ष वाहेक सबै अटेका छन् भने अधिकारीको समूहका उम्मेदवारमा वर्तमान कार्यसमिति सदस्यबाट एक जना पनि नभएको अधिकारीले बताए । आचार्यको समूहमा उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आषिश गर्ग उम्मेदवार बनेका छन् । पाण्डे अहिले पनि उपाध्यक्ष छन् भने गर्ग वर्तमान महासचिव हुन् । कार्की कार्यसमिति सदस्य छन् । आचार्यको समूहबाट महासचिवमा मोहन डाँगी उम्मेदवार बनेका छन् । ३ वटा सचिव पदका लागि भीम पाठक, राम आचार्य र आनन्द चौधरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा सुधिर तिमल्सिनाले उम्मेदवारी दिएका छ । खुला सदस्यहरुमा नरेन्द्र पन्त, भरत खड्का, प्रकाश श्रेष्ठ, मोहन कार्कीले उम्मेदवारी दिएका छन् । महिला आरक्षण सदस्य समूहमा कविता कँडेल र इन्दिरा पन्त उम्मेदर बनेका छन् । अधिकारीको समूहबाट उपाध्यक्षहरुमा उत्तम लामा, बलराम खतिवडा, भरत खत्री, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत लामिछाने थापा, सुमन कुमारी जोशी, प्रकाश दुलाल, कोषाध्यक्ष मिथुन सिपी पौडेल उम्मेदवार छन् । खुला सदस्यहरुमा विक्रम विष्ठ, जीतमान शेर्पा, अर्जुनप्रसाद पौडेल, इशा श्रेष्ठ र आरक्षिण महिला सदस्यमा अविज्ञा मल्ल, केशाङ विकी लामाले उम्मेदवारी दिएका छन् । यसअघि ९ सदस्यीय कार्यसमिति चयन गर्ने अभ्यास भएपनि अहिले विधान संशोधन गरी १५ सदस्यी बनाइएको छ । इपानमा १७६ जना मतदाता रहेको छन् । भोलि १० बजेदेखि मतदान हुने भनिए पनि ठेगाना अझै तय नभएको बताइएको छ ।