काेराेना रोकथाममा प्रभावकारी काम गर्न स्वास्थ्यमन्त्रीकाे ध्यानाकर्षण

काठमाडाैं । नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो । प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टिन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ । काँग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ । भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताए । साथै उनले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए । सहमहामन्त्री डा महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए । प्रतिनिधिमण्डलले आजै अपरान्ह दुई बजे अर्थमन्त्रीसँग कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न भेट्ने कार्यक्रम रहेको जनाएको छ ।   रासस

कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा शुरू

काठमाडाैं । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले १ करोड १० लाख रूपैयाँ खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो । “कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गौलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौं”, उनले भने, “नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सञ्चालनमा ल्याएका हौं ।” यही असार १४ गतेदेखि अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा शुरु गरिएको कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा पेरु प्रधानले बताए । “नगरपालिकाको सहयोगमा सेवा शुरु गरेका हौं, आइतबार र सोमबार दुई दिन सेवा प्रवाह गर्यौं, आजका लागि कोही आउनुभएको छैन”, उनले भने, “शुरुआती चरण भएकाले धेरैलाई थाहा नहुन सक्छ तर पनि हामीकहाँ १३ जनाले नाम टिपाइ सकेका छन् ।” उनका अुनसार अस्पतालले डायलाइसिस सेवाका लागि ११ कर्मचारी छुट्याएको छ । यसअघि नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स खरीद गरिसकेको छ । नगरवासीलाई सहज रुपमा सेवा प्रवाहका लागि ४८ लाख १५ हजार रूपैयाँ लागतमा नगरपालिकाले एम्बुलेन्स खरीद गरेको प्रवक्ता रिजालले जानकारी दिए । यसैगरी नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेसिन प्रयोग गरी प्रयोगशाला सञ्चालनको तयारी गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर नगरपालिकाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण खरीद गरिसकेको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत सामान खरीद गरिएको जनाइएको छ ।  रासस

कोरोनाबाट संसारभर ५ लाख ७ हजारभन्दा बढिको मृत्यु, साढे ५६ लाख निको भए

काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४ लाख २ हजार २ सय ८७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ७ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५६ लाख ४८ हजार २ सय ८० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ८१ हजार ४ सय २५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म १६ हजार ९ सय ४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १३ हजार २ सय ४८ जना संक्रमित भएका छन् भने २९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)