कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

काठमाडौं । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ । भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा सन्तोष गुरुङका अनुसार एक जना सङ्क्रमितको डायलासिस अस्पतालले गरिरहेको छ । ती बिरामी हेटाँैडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुष हुन् । साउदीबाट फर्किएका उनको तेस्रो पटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङका अनुसार यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो । साउदीमा करिब २० पटक उनको डायलासिस भई सकेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरी व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उनको भनाइ छ । बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको छ । ती बिरामीको डायलासिस गरिएपछि त्यहाँको पूर्णरुपमा निर्मलीकरण थालिएको छ । शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस शुरु गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेका छन् । हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १ सय ६ जना बिरामी रहेका छन् । उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताए । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताए । जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनले बताए । यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अवस्थामा उपचारमा सहजता हुने उनको भनाइ छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएको उनले जानकारी दिए । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत

दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड -१९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ । यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बुधबार बिहान प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७ सय ५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बुधबार बिहानसम्ममा ७ लाख ४२ हजार ४ सय १७ जना पुगेका छन् । यी संक्रमितहरुमा भारतमा ४ लाख ५६ हजार ८ सय ३० जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा २ लाख ६४ हजार ९ सय ४४ जना संक्रमितहरु अहिले रहेका छन् । उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् । यहाँ २० हजार ६ सय ४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४ सय ८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१।५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ ।   रासस/एएनआई

विश्वमा संक्रमितको १ करोड २१ लाख नाघ्यो, उपचारपछि निको भए ७० लाख बढी

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २१ लाख ५५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार विहीबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ५१ हजार १ सय ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७० लाख २५ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख १३ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ३१ लाख ५८ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ९४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता अमेरिकामा करिब ९ सय जनाको कोरोनाबाट मृत्यु भएको छ । ब्राजिलमा करिब १२ सय जनाको एक दिनमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ हजारभन्दा बढी रहेका छन् । ब्राजिलमा १७ लाख १६ हजार २ सय मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । निको हुनेको संख्या ११ लाख १७ हजार पुगेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ६९ हजारभन्दा बढी संक्रमित छन् । २१ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ७६ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ४ सय २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)