नेपालमा थप ८२ जनामा कोरोना पुष्टि
काठमाडौं । आईतबार पछिल्लो २४ घण्टा यता थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८२ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ८ सय १ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ८३ हजार ५ सय १५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार १ सय ७४ जना आईसाेलेसनमा रहेका छन् ।
धनगढीमा स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै
धनगढी । कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना सङ्कलन सुस्त भएको छ । आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना सङ्कलनमा कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । मन्त्रालयको तथ्याङ्कका अनुसार, पछिल्लो दुई दिनमा जम्मा ६सय १ जनाको मात्र नमूना सङ्कलन हुन सकेको छ । दुई हप्ता अघिसम्म दैनिक पाँच सयदेखि छ सयसम्म शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन हुने गरेको थियो । पर्याप्त नमूना सङ्कलन नभइरहेको र यसअघि परीक्षणका लागि सङ्कलित नमूनाको चाप पनि घट्दै गएको छ । शनिबारसम्म जाँच गर्नुपर्ने नमूना ९ सय ११ मात्र बाँकी छन् । गत जेठ महिनामा उकालो लागेको सङ्क्रमण दर पछिल्ला दिनमा घट्दै गएको छ । शनिबार कञ्चनपुरका तीन जनामा मात्र कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । यससँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७ सय ५८ पुगेका छन् । यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लागत रुपमा हालसम्म कैलाली ९९४, अछाम ५९२, बैतडी २९८, बझाङ १५९, बाजुरा ४४६, डडेलधुरा २६९, दार्चुला १९, डोटी ५३५ र कञ्चनपुरमा ४४६ जना सङ्क्रमित पुगेका छन् । ९९४ सङ्क्रमित पुगेको कैलाली जिल्ला देशभरमै सम्भवतः सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाका रुपमा देखिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भारतबाट आउनेहरुको सङ्ख्या र क्वारेन्टिनमा बसेकाहरुको सङ्ख्या घट्दै गएको जस्ता कारणले सङ्क्रमण दर घटेको बताए । उनले भने, “सीमामा आइपुग्नेहरु को कहाँ गइरहेका छन् भन्ने यकिन जानकारी थाहा नहुँदा पछिल्ला दिनमा स्वाब सङ्कलनमा पनि कमी आएको छ ।” आगामी चारपाँच दिन भित्रमा प्रदेशका सबै क्वारेन्टिनमा बसेका शङ्कास्पदको स्वाबको नमूना सङ्कलन गर्ने गरी तयारी गरिएको डा अवस्थीले जानकारी दिए । सीमा नाकाबाट आउनेहरुको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले सङ्क्रमण अब समुदायमा देखिने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलोपटक गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । गत वैशाख महिना शुरु हुँदासम्म पाँचजना सङ्क्रमित फेला परेकामा यसपछिको झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो ।
विश्वमा कोरोना संक्रमितको १ करोड २८ लाख नाघ्यो, उपचारपछि निको हुने ७४ लाख बढी
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २८ लाख ३९ हजार ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार आइतबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ६७ हजार ५ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७४ लाख ७७ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजार ६ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४ सयभन्दा बढी रहेका छन् । उपचारपछि १४ लाख ९० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१ हजार ४ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ४० हजार ८ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ५० हजारभन्दा बढी संक्रमित छन् । २२ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ३६ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ७ सय १७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार २ सय ३९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)