देशभरका अस्पतालमा सेवा ठप्प, बिरामी अलपत्र

काठमाडौं । साेमबार देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका छन् । अस्पताल तथा चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले केही अस्पताल तथा चिकित्सकलाई जरिवाना फैसाला गरेकोमा असन्तुष्टी जनाउँदै चिकित्सकहरूले आन्दोलन गरेका हुन् ।  नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । संघको घोषित कार्यक्रम अन्तरगत असार २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिएका थिए ।  साेमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने र चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ । बिरामी मर्कामा अस्पतालमा ओपीडीसेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । दैनिक ६ सयभन्दा बढी बिरामी उपचारका लागी पुग्ने वीर अस्पताल ठप्प हुँदा बिरामीहरू मर्कामा परेका छन् । टिकट काउन्टर नै बन्द हुँदा बिरामीहरू आएर गेटबाटै फर्किन थालेको अस्पतालका सूचना अधिकारी सिताराम खड्काले बताए । उनले भने, ‘चिकित्सकहरू सबै आन्दोलनमा छन्, उपचार गर्नेहरू नै नआएपछि बिरामीलाई सेवादिने कुरै भएन ।’ वीरमा ओपीडी बाहेक अन्य आकस्मिक सेवा भने सुचारु रहेका छन् । उता शिक्षण अस्पताल महाराजगञ्जमा पनि आकस्मिक बाहेकका सबै सेवा ठप्प रहेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले ओपीडीसेवा बिहानैदेखि ठप्प रहेको बताए । उपभोक्ता अदालतको आदेशले चिकित्सकहरू मानसिक र शारीरिक रुपमा उपचार गर्न सक्षम नरहेको भन्दै उपस्थित् नहुँदा उपचारसेवा ठप्प भएको उनले बताए । रोस्यारले ओपीडीसेवा बन्द हुँदा दैनिक २ हजार ५ सय भन्दा बढी सख्यामा अस्पताल पुग्ने बिरामीलाई मार परेको बताएका छन् । यी बाहेक अन्यसबै सरकारी र निजी अस्पतालको सेवा पनि आज ठप्प रहेको छ।  

स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार

खोटाङ । यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ १२ मा स्तरोन्नति गर्ने निर्णय गरेपछि आइतबार कोशी प्रदेश सरकारका स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गरेका हुन् । अस्पताल भवन निर्माणको काम बाँकी रहे पनि अन्य सेवा विस्तारका लागि ५० शय्याको उद्घाटन गर्नुपर्ने बाध्यता भएको मन्त्री राईले बताए । '१५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई स्तरोन्नति गर्न मन्त्रालयले पर्याप्त बजेट उपलब्ध गराएको छ । सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन', उनले भने, 'अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ । आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ ।' मन्त्री राईले औषधि प्रशोधन केन्द्र, उपकरण तथा औषधि खरिदलगायतका लागि मन्त्रालयबाट पर्याप्त बजेटको व्यवस्था गरिएको बताए । 'मन्त्रालयबाट स्वास्थ्य क्षेत्रका लागि खोटाङमा रु १६ करोड बजेट विनियोजन गरिएको छ । निर्माणाधीन अस्पताल भवन सम्पन्न नभए पनि सेवा सुविधा विस्तार गर्न ५० शय्याको सेवा शुभारम्भ गरेका छौँ' उनले भने । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पताल विस्तार गरिएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउने गरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको मन्त्री राईको भनाइ छ । निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । अस्पताल भवन निर्माणको ठेक्का रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको छ । ठेकेदार कम्पनीले ३० महिनाभित्र सक्नेगरी विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ । ठेकेदारसँग सम्झौता गरिएअनुसार विसं २०८० पुस–२४ गते भवन निर्माणको म्याद नाघेपछि पुनः थप गरिएको म्याद आगामी मङ्सिरसम्म छ । रासस

३५ वर्षपछि पर्वत प्रदेश अस्पतालमा विशेषज्ञ सेवा सुरू

पर्वत । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरू भएको हो । पन्ध्र श्ययाको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ श्यया अस्पतालको सेवा दिइरहेको अस्पतालले अब भने हाडजोर्नी, बाल रोग र स्त्री रोग विशेषज्ञबाट सेवा दिन सुरू गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए ।  अस्पतालको स्तरोन्नति भएकै कारण प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा दिन सुरू गरिएको उनले बताए । प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिको निर्णय गरिसकेको अवस्थामा सोहीअनुसारका जनशक्ति थप गर्नका लागि केही समय लाग्ने छ तर अस्पतालले भने सेवाग्राहीको मागलाई ध्यानमा राख्दै अस्पतालको स्रोतबाट समेत विशेषज्ञ नियुक्त गरेर सेवा दिन सुरू गरेको हो । अस्पतालमा रहेको पोषण कार्यक्रमअन्तर्गत अस्पतालको स्रोतबाट बेहोर्ने गरी बालरोग विशेषज्ञको रूपमा डा प्रकाश गौतमले अब ओपिडीबाट सेवा दिने भएका छन् । यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा ढुण्डीराज पौडेलले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए ।  डा पौडेलको दरबन्दी प्रदेश अस्पताल पर्वतमा नै रहेको भए पनि उनी अध्ययनका लागि गएका थिए ।स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा बालकृष्ण श्रेष्ठ छात्रवृत्तिमा आएसँगै अब अस्पतालले विस्तारित रूपमा विशेषज्ञ सेवा दिन सुरू गरेको हो । छात्रवृत्तिमा आएका चिकित्सकले कम्तीमा पनि अबको दुई वर्ष सेवा गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम विकले बताए ।  'उहाँहरू सबै जना एमडी सकेर विशेषज्ञ सेवा दिनका लागि यहाँ आइपुग्नुभएको छ । हामीले अहिलेसम्म प्रवाह गर्दै आएको सेवा झनै प्रभावकारी र विशेषज्ञबाट दिन सकिने भएको छ', डा बास्तोलाले भने, ‘यसरी विशेषज्ञ सेवा दिन सुरू गरेको यो नै पहिलो हो ।’  ‘अब महिलाको जटिल खालको शल्यक्रिया गर्नका लागि बेहोस बनाउने डाक्टर हुनुहुन्न भनेर रोकिनुपर्ने अवस्था रहेन । क्रिटिकल केसमा पनि हामीले काम गर्न सक्ने भएका छौँ’ उनले भने । छात्रवृत्तिमा आएका चिकित्सकको अवधि दुई वर्षको हुने बताउँदै उनले उनीहरू फर्किने अवस्था आएको बेलामा प्रदेश अस्पताल समेत स्तरोन्नति भएको अस्पतालका रूपमा जनशक्ति उपलब्ध गराउने बताए ।  अब केही दिनमा नै गण्डकी प्रदेश सरकारले हाडजोर्नीको उपचारको लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकाले पनि अब पर्वतसहित आसपासको क्षेत्रका बिरामीलाई हाड जोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने डा बास्तोलाको भनाइ छ । सरकारबाट प्राप्त भएका र अस्पताल आफैँले व्यवस्थापन गरेका गरी कूल ११० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा अब भने कम्तीमा पनि १४–१५ जना विशेषज्ञ चिकित्सक रहने अस्पतालका निवर्तमान अध्यक्ष शङ्कर गिरीले बताए । केही वर्ष अगाडिसम्म दैनिक करिब ४०–४५ जना बिरामीलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब ३०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिएको उनको भनाइ छ । रासस