एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले भविष्यमा संकट निम्त्याउन सक्ने डाक्टरहरूको चेतावनी

सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।  कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो ।  एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ ।  चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताए ।  उनले सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० र अप्रत्यक्ष रुपमा २३ हजार २०० मृत्यु भएको बताए । मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगप्रति जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण रहेको उनको भनाइ छ । उनले भने, 'बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य सङ्क्रमण रहेका छन् ।' नेपालको कूल ग्राहस्थ उत्पादनमा पशुपक्षीपालन क्षेत्रको करिब १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ । उनले गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित हुन थालेको बताए ।  कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा। केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएको बताए । सामान्य रोगका लागि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको उनको भनाइ छ ।  'बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ,' उनले भने, 'यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामीमात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।' औषधी पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने बताउँछन् । कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहन्न भने पनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औंल्याए । गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव  यसैबीच सरोकारवालाले गाउँगाउँसम्म एन्टिबायोटिक औषधीको प्रयोगले पु¥याउने हानिका विषयमा गाउँगाउँसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन्टिबायोटिकको प्रयोग जथाभावी गर्दा भविष्यमा निम्तिने स्वास्थ्य समस्याका बारेमा आमनागरिकलाई जानकारी दिन आवश्यक रहेको औंल्याएका हुन्।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुमा एन्टिबायोटिकको प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यससम्बन्धी जनचेतना आमनागरिकमा दिनुपर्ने सुझाव दिए ।  वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पनि पशुहरुमा प्रयोग हुने औषधीकै कारण मानिसमा गम्भीर असर परिरहेकोतर्फ सचेत हुनुपर्नेबेला आएको बताए । नेपाल औषधी व्यवसायी सङ्घ सुर्खेतका महासचिव मङ्गलप्रसाद शर्माले पनि जथाभावी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आमव्यवसायीलाई सचेत गराइएको बताए । केही व्यवसायी र बिरामी आफै पनि जथाभावी औषधीको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।  सरोकारवालाहरुले मानव, पशुपक्षी र बोटबिरुवामा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने, आवश्यक निर्क्यौल गरेरमात्रै प्रयोग गर्ने, यस विषयमा जनजनमा सचेतना जगाउनुपर्ने सुझाव दिएका छन् ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले प्रतिजैविक औषधीहरुको जथाभावी प्रयोग बढ्न नदिनेगरी काम भइरहेको जानकारी दि‍ए ।  सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले यससम्बन्धी बनेका कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रित हुने प्रतिबद्धता जनाए ।  

स्वास्थ्य सेवा विस्तारको तयारी : साउनदेखि अलपत्र अस्पतालहरू सञ्चालनमा ल्याइने

काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।  मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ ।  अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।  कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।   

अङ्गुरखेतीले बदल्दैछ गाउँको मुहार, स्वरोजगारमा युवा आकर्षित

तनहुँ । यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए । 'पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ । धादिङमा रु ३८ करोड ५० लाख र तनहुँ रु डेढ करोड गरी रु ४० करोड लगानी गरिसकेको छु', उनले भने । यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए । उनले भने, 'पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।' कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो रु २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् । फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए । सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल रु एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए । धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उनले बताए । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ । अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत/वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए । विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले सुनाए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए । 'यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ', उनले भने । रासस