फर्टिलिटीका नाममा करोडौंको खेल, किशोरीको स्वास्थ्यमाथि खुलेआम अपराध

काठमाडौं । एउटा किशोरी कुनै आईभीएफ सेन्टरमा गएर आफै आफ्नो डिम्ब बेच्छिन् । उनलाई डिम्बको सट्टा आईभीएफले ३५ हजार रुपैयाँ दिन्छ । उनलाई थाहा हुन्छ कि किशोरीहरूको अण्डा पनि बजारमा किनबेच हुन्छ । त्यसपछि उनी अरू किशोरीलाई फकाउँछिन्, पैसाको लोभ देखाउँछिन् । पैसाको लोभमा १८ देखि २० वर्ष मुनिका किशोरीहरू पर्छन् । उनलाई आईभीएफमा ल्याइन्छ । चिकित्सकले सुई लगाएर बेहोस गर्दै उनको डिम्ब झिक्छन् । अनि होसमा आउँदा हातमा १०/१० हजार दिएर फर्काइन्छ र यस्तो कुरा अरूलाई नभन्न दबाब दिइन्छ ।   किशोरीहरूलाई आईभीएफमा ल्याएबापत ती युवतीले कमिसन पनि बुझ्छिन् । उनको यो खेल कति अगाडि सुरु भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ती किशोरीले अहिलेसम्म ६ जना किशोरीलाई आईभीएफ पुर्‍याएर अण्डा झिक्न लगाई आफूले पनि कमिसन खाइसकेको पाइएको छ । यो कुरा तब बाहिर आउँछ जब ती युवतीले कसैलाई नभन्नु भनेको कुरा आफ्ना अभिभावकलाई थाहा हुन्छ ।  प्रलोभनमा परी शरीरको डिम्ब दिएकी किशोरीमा एक्कासि शारीरिक र मानसिक परिवर्तन आउँदा अभिभावकले चासो राख्छन् । छोरीले समस्याबारे मुख नखोल्दा आतिन्छन्, उनीहरू उपचारको लागि दौडधूप गर्छन् । अस्पतालमा गएर चिकित्सकहरू भेट्छन् । चिकित्सकले काउन्सिलिङ गरेपछि किशोरीहरू बल्ल बोल्छिन् । छोरीलाई फकाएर शरीरका अण्डा दिन लगाइएको कुरा थाहा भएपछि अभिभावक आईभीएफको कालो कर्तुतबारे उजुरी दिन प्रहरीकहाँ जान्छन् । जब उनले कालो कर्तुतबारे प्रहरीलाई जानकारी दिन्छन् त्यसपछि आउँछ दम्पतीलाई सन्तानको सुख दिने भन्दै खोलिएका आईभीएफको सेवाको नाममा गरिएको घिनलाग्दो कर्तुत।  यो घटना गत असार ३० गतेको हो । लाजिम्पाटमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दुई किशोरीका अभिभावक काठमाडौंमा सञ्चालित फर्टिलिटीले आफ्ना छोरीहरूको अण्डा झिकेर लिएको उजुरी लिएर पुगे । जुन घटना प्रहरीको लागि समेत नयाँ थियो । निःसन्तान दम्पत्तिलाई सन्तानको सुख दिने उद्देश्यले सञ्चालन गरेर कलिला किशोरीबाट अण्डा झिकेर लाखौंमा बेच्ने काम गरिरहेको यो आईभीएफ हो- काठमाडौंको बबरमहलमा सञ्चालित होप फर्टिलिटी एण्ड डाइग्नोसिस्ट प्रालि ।  जसले कलिला छोरीलाई विभिन्न प्रलोभनमा पारी शरीरको डिम्ब झिकिरहेको फेला परेको छ । यो विषय उजुरी परेपछि प्रहरीले सञ्चालकसहित चिकित्सक र कर्मचारी गरी पाँच जनालाई पक्राउ गर्‍यो । अनुसन्धानपछि घटना अदालत पुग्दा अदालतले पाँचै जनालाई जमानतमा रिहा गरी अनुसन्धान गरिरहेको छ ।  सुन्दा अनौठो कथा जस्तो लाग्ने यो घटना काठमाडौंमा सञ्चालित केही आईभीएफहरूले गरेको यथार्थ हो । प्रहरीकहाँ परेको उजुरी एउटा फर्टिलिटीसँगमात्र सम्बिन्धत थिएन । महाराजगञ्जमा रहेको एन्जल फर्टिलिटी क्लिनिकमा पनि यस्तै धन्दा चलिरहेको उजुरी पनि प्रहरीकहाँ पुगेको छ । यो विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले यो विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।  अहिले काठमाडौं उपत्यकाभित्र छ्याप्छ्याप्ती आईभीएफ सेन्टरहरू छन् । उपत्यकाका प्रत्येक गल्ली-गल्लीमा देखिन्छन् । यस्ता सेन्टरहरूले निःसन्तान दम्पतीलाई सन्तान दिलाउने भन्दै चर्को मूल्य समेत लिइरहेका छन् भने भित्रभित्र वीर्य र अण्डा लेनदेनको खेल पनि सुरु भएको छ । कतिपय विषय बाहिर आएपनि यस्ता विभिन्न कर्तुत आईभीएफले गर्नसक्ने अनुमान माथिको घटनाले देखाउँछ । आईभीएफहरूले सन्तान नभएका दम्पतीलाई सन्तानको आश देखाउँदै प्रतिस्पर्धाका रूपमा विज्ञापन गरिरहेका छन् । सामाजिक सञ्जाल टिकटक, फेसबुकमा जताततै अहिले आईभीएफले दिने सेवा र गरेको कामबारे  प्रचारप्रसार गरिरहेको पाइन्छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर २५ वटा आईभीएफ सेन्टर दर्ता भएर सञ्चालन भइरहेका छन् । जसमध्ये १६ वटा काठमाडौं उपत्यका र ९ वटा उपत्यका बाहिरका विभिन्न सहरमा सञ्चालनमा आएका छन् । आईभीएफ सञ्चालनका लागि १२ वटाले अनुमति माग गरेको मन्त्रालयले जनाएको छ । यीभन्दा बाहेक मन्त्रालयसँग दर्ताको अनुमति नलिएर पनि थुप्रै आईभीएफ सञ्चालनमा आइरहेका छन् ।  मन्त्रालयले यस्ता आईभीएफलाई दर्ता हुन पटक-पटक आग्रह गरे पनि लुकिछिपी सञ्चालनमा आइरहेको पाइन्छ । अहिले फर्टिलिटीमा भइरहेको विकृतिका विषयमा छानबिन गर्न मन्त्रालयले समिति बनाएर काम गरिसकेको जनाएको छ । मन्त्रालयले समिति नै बनाएर छानबिन गरिरहेकाले प्रतिवेदन प्राप्त भएपछि मात्र यो विषयमा जवाफ दिने प्रतिक्रिया दिएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, ‘यो विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ, मुद्दा अदालतमा  छ । हामीले पनि अनुसन्धानका लागि समिति बनाइसकेको बेला अहिले नै यसोउसो भन्न मिल्दैन, प्रतिवेदन प्राप्त भइसकेपछि हामी कुरा के जानकारी गराइहाल्छौं ।’ कानुन बिना दर्ता उपत्यकाभित्र वा बाहिर भद्रगोल रूपमा धमाधम सञ्चालनमा आइरहेका आईभीएफ सञ्चालनका लागि स्पष्ट कानुन छैन । कानुन नभई सञ्चालनमा आएका यस्ता आईभीएफले भोलि ठूलो समस्या सिर्जना गर्न सक्ने विज्ञहरू बताउँछन् । स्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी कानुनबिना यस्ता आईभीएफ सञ्चालन हुन नहुने बताउँछन् ।  ‘मैले आज होइन, स्वास्थ्य मन्त्रालयलाई कानुन बनाउनुपर्छ भनेको धेरै समय भइसक्यो,’  उनी भन्छन्, ‘कति कानुन मात्र बनाउने भन्दै स्वास्थ्य मन्त्रालयलाई उम्कने अधिकार छैन । मन्त्रालयका पदाधिकारी कति कानुन बनाउने भन्ने ओठे जवाफ दिन्छन् । जब सम्म स्पष्ट कानुन हुँदैन तबसम्म यस्ता विकृतिहरू रहिरहन्छन् ।’ मरासिनी कानुनबिना आईभीएफको लागि मन्त्रालयले इजाजतपत्र नै दिन नहुने बताउँछन् । उनी अहिले चर्चामा आएको आईभीएफको कालो धन्दामा स्वं चिकित्सक आफैले बदमासी गरिरहेको भन्दै यस्तो अपराध गर्ने अधिकार चिकित्सकलाई नरहेको बताउँछन् । कानुन भएको ठाउँमा पनि समस्या आइरहेको बेला नेपालमा झन अवस्था डरलाग्दो हुने उनको भनाइ छ ।  प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. लता बज्राचार्य आईभीएफको नाममा बजारमा निकै विकृति मौलाइरहेको बताउँछिन् । ‘बजारमा आएको जुन घटना छ, यो निकै ठूलो डरलाग्दो घटना हो,’ उनी भन्छिन्, ‘उमेर नपुगेका किशोरीलाई विभिन्न सुई दिएर डिम्ब निकाल्नु अपराध हो, यी किशोरीलाई अहिलेमात्र होइन पछि गएर किशोरीको रिप्रोडक्टिभ हेल्थमा असर पर्छ,  यो जसले गरिरहेको छ निकै नराम्रो काम हो ।’ स्पष्ट कानुन नभई सञ्चालनमा आएका यस्ता आईभीएफहरूबारे एक पटक सोच्ने बेला भएको बज्राचार्य बताउँछिन् । गाउँबाट पढ्न आउँछन् पैसा हुँदैन बाध्यताले यस्तो काम गर्छन् । उनले सानो उमेरमै डिम्बासय निकाल्दा यसले पछि समस्या हुने बताइन् ।  डा. लताले सेरोगेसी र आईभीएफका विषयमा कानुन बनाउनुपर्ने कुरा पहिल्यैदेखि उठाउँदै आएकी थिइन् । तर, यो विषयमा कसैले चासो नदेखाएको उनको भनाइ छ । ‘पहिले कानुन बनाउनुपर्‍यो भन्ने कुरा मैले पहिलेदेखि गरेकी हुँ तर अहिलेसम्म पनि स्पष्ट कानुन छैन । पहिले सेरोगेसी निकै हुन्थ्यो, अहिले यो विषय सुस्ताएको छ तर जे हुँदैछ गलत काम हुँदैछ,’ उनले भनिन् ।’ के छ कानुनमा ? टेस्टट्युबबेबी सम्बन्धी स्पष्ट कानुन नभए पनि जन स्वास्थ्य सेवा नियमावली २०७७ ले केही विषय भने समेटेको छ । ऐनको अनुसूची ७ को २४ मा टेष्ट ट्युव बेबी आईभीएफ सेन्टर उल्लेख गरी यसले दिने सेवाका बारेमा बोलेको छ ।  जसमा भनिएको छ, ‘स्त्री रोग सेवा, बहिरंग सेवा, प्रयोगशाला : शुक्रकिट परीक्षणसहित यूएसजी सेवा, अप्रेसन थिएटर, भ्रूण विज्ञान ल्यावको व्यवस्था हुनपर्ने छ ।’  आकस्मिक सेवाका लागि कम्तीमा कुनै एक प्रारम्भिक विशेषज्ञ सरहको अस्पतालसँग सम्झौता हुनेपर्ने पनि भनिएको छ ।  योभन्दा बाहेक यो विषयमा ऐन मौन छ । यस्तै, मुलुकी देवानी संहिता ऐन २०७४ ले  पनि कृत्रिम गर्भाधानको विषयमो केही बोलेको छ । उक्त ऐनको दफा १ सय ९ ले कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुने भनेको छ । जसमा भनिएको छ, ‘पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको विर्यबाट कृत्रिम गर्भधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोही बमोजिम निजको पितृत्व निर्धारण हुनेछ ।’  योभन्दा बाहेक अन्य कुनै पनि ऐन, नियमावली अहिलेसम्म बोलेको छैन ।  विज्ञहरू कानुन नभएका गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै पहिले कानुनमा जोड दिनुपर्ने बताउँछन् । विज्ञ डा. मरासिनी भन्छन्, ‘कडा ऐन भएका देशमा पनि आईभीएफले बदमासी गर्दा केही व्यक्ति अहिले जेलमा बसेका छन्, हाम्रो जस्तो कानुन नै नभएको देशमा अवस्था अझै डर लाग्दो देख्छु ।’ १५ प्रतिशत दम्पतीलाई आईभीएफ आवश्यक आजभोलि निःसन्तान दम्पतीको संख्या केही बढ्न थालेको छ । बदलिँदो जीवनशैली, ढिलो विवाहका कारण पनि दम्पतीलाई बच्चा जन्माउन समस्या भइरहेको हुन्छ । तर, समस्या भएका सबै दम्पतीको आईभीएफ नै गर्नुपर्छ भन्ने हुँदैन । केही दम्पतीको सामान्य जाँच गरी उपचार गर्दा पनि बच्चा जन्मन सक्छ । तर, ४०/४५ वर्ष पुगिसकेका महिला र विशेषगरी खाडी मुलुकमा काम गर्ने पुरुषमा यो समस्या बढिरहेको छ ।  विज्ञ डा. लता पहिलेको तुलनामा निःसन्तान हुने दर बढे पनि सबैलाई आईभीएफ नै आवश्यक नपर्ने बताउँछिन् । उनी करिब १५ प्रतिशत दम्पतीलाई यो आवश्यक पर्ने बताउँछिन् ।  विज्ञहरू आईभीएफ सेवालाई नराम्रो भन्दैनन् । बरु उनीहरू अहिलेको पुस्तालाई अत्यन्तै आवश्यक भएको बताउँछन् । स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. भोला रिजाल यो सेवा उपत्यका मात्र नभई उपत्यका बाहिरका सहरमा पनि विस्तार गर्न आवश्यक रहेको बताउँछन् ।  भन्छन्, ‘कहिले अनुमति नै नलिएर सञ्चालन गरिएको सुनिन्छ, कहिले दर्तामा भएकाहरूले नै गलत गतिविधि गरिरहेको भन्ने सुनिन्छ, यसलाई बाँध्ने गतिलो ऐन बन्न सकेन ।’ स्वास्थ्य जस्तो संवदेनशील विषयमा गैर-कानुनी रूपमा सञ्चालनमा आउनु आफैमा नराम्रो रहेको उनी बताउँछन्।  के हो आईभीएफ ? इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) बच्चा जन्माउन सहयोग गर्ने एक सहायक प्रजनन प्रविधि हो । जसको प्रयोग बच्चा जन्माउन समस्या भएकाहरू दम्पतीका लागि गरिन्छ ।  इन भिट्रोको अर्थ शरीर बाहिर हुन्छ । पुरुषको शुक्राणु र महिलाको डिम्बलाई महिला र पुरषको शरीर बाहिर विशेष प्रयोगशालाको पेट्री डिसमा मिलाएर भ्रूण तयार पार्ने प्रक्रिया हो ।   यो प्रक्रियापछि त्यो भ्रूणलाई महिलाको पाठेघरमा लिएर राखिन्छ । यो प्रक्रियाभन्दा अगाडि महिलाको थुप्रै जाँच गर्नुपर्छ । यो जाँच महिनावारीको दोस्रो दिनबाट गरिन्छ । हर्मोन टेस्ट र अल्ट्रासाण्ड गरिसकेपछि दोस्रो दिनदेखि नाइटोको वरिपरी भागमा १० दिनदेखि १२ दिनसम्म विभिन्न सुई लगाइन्छ । जसले महिलाको डिम्बलाई राम्रो बनाउँछ ।  डिम्ब राम्रो बनिसकेपछि यसलाई अल्ट्रासाण्डको सहायताले महिलाको अण्डाशयबाट निकालिन्छ । यसै बेला पुरुषको शुक्रकिट निकालेर ल्याबमा राखेर निशेचन गराइन्छ । यसरी तयार पारिको भ्रूणलाई फेरि महिलाको पाठेघरमा राखिन्छ । यसरी राखिएको करिब दुई सातापछि गर्भवती भए नभएको जाँच गरिन्छ । कुनै दम्पतीले लामो समयदेखि बच्चा जन्माउने प्रयास गर्दापनि गर्भ नरहँदा, पाठेघरको नली बन्द हुँदा, पुरुषको शुक्राणुको संख्या कम वा कमजोर हुँदा वा  विभिन्न उपचारपछि पनि गर्भ नरहँदा दम्पतीले यो विधिबाट सन्तान प्राप्त गर्छन् । बालअधिकारकर्मीको गुनासो काठमाडौं उपत्यकामा ७७ वटै जिल्लाका व्यक्तिको बसोबास छ । धनी, गरिबदेखि राम्रो नियत भएका वा खराब नियत भएका व्यक्तिहरू पनि काठमाडौंमा छन् । विभिन्न सपना बुन्दै यो काठमाडौंमा बसिरहेकाहरूलाई यहाँ टिक्न निकै चुनौती हुन्छ ।  यही मौका छोप्दै दलालहरूले गरिब निमुखाहरूमाथि फाइदा उठाउने काम गरिरहेको सरोकारवालाहरू बताउँछन् । यसमा अझ बढी पीडित किशोरी र महिला रहेका छन् ।  डा.बज्राचार्य गाउँबाट पढ्न आउने किशोरीलाई पैसाको प्रलोभन देखाएर विभिन्न गलत काममा लाग्न बाध्य पारिरहेको बताउँछिन् । अहिले फर्टिलिटीहरूमा देखिएको यो गलत धन्दाको पीडित पनि आर्थिक अवस्था कमजोर रहेका बालिकाहरू पर्न सक्ने बताउँछिन् ।  ‘बालबालिका गलत काममा जानाजान लाग्दैनन्, कि बाध्यताले गर्छन् कि थाहा नपाएर पैसा हुँदैन बाध्यताले यस्तो काम गर्छन्,’ उनले भनिन् ।  

छाला मुनिको प्लाष्टिक सर्जरी : आवश्यकता धेरै, जनशक्ति न्यून

काठमाडौं । केही महिनाअघि ट्रमा राष्ट्रिय सेन्टरमा बाइक दुर्घटनामा परेका बिरामीलाई उपचारका लागि ल्याइयो । खुट्टाको हड्डी भाँचिएर आएका उनको अर्थोपेडिक डाक्टरले उपचार गरे । तर, हड्डी बाहिर देखिन थाल्यो । उपचार भएपनि घाउ छोप्न प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता भयो । त्यसपछि प्लास्टिक सर्जनले हड्डी छोप्ने गरी मांसपेशी र छाला नभएको अवस्थामा माइक्रो सर्जरीको प्रविधिबाट पेटको मांसपेशी लिएर माइक्रोस्कोपमा सानो रगतको धमनीलाई जोडेर प्रत्यारोपण गर्न सम्भव भयो ।  खुट्टामा जटिल घाउ हुँदा माशंपेशी अर्को ठाउँबाट सारेर छाला प्रत्यारोपण गरेर उपचार गर्न सम्भव प्लास्टिक सर्जरीबाट हुन्छ । ट्रमा सेन्टरमा कार्यरत प्लास्टिक सर्जन डा. अनुराग थापा प्लाष्टिक शल्यक्रिया बिना ट्रमा सेवा अपुरो हुने बताउँछन् ।  ‘सामान्य चोटपटकमा अन्य चिकित्सकले काम गर्छन तर यस्ता गहिरा घाउ भर्न प्लास्टिक सर्जनहरूकै आवश्यकता हुन्छ । घाउ चोटपटक लाग्दा प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ,’ उनले भने ।  ट्रमा अस्पतालमा सयौं बरामी विभिन्न घाउ चोटपटक लागेका बिरामी आउँछन् । उनीहरूमध्ये धेरैको गहिरो घाउ हुन्छ । जहाँ उपचार गर्दा घाउ छोप्न अर्को ठाउँमा मासु ल्याएर छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा उपचारमा प्लास्टिक सर्जरी विलासिता नभइ आवश्यकता रहेको उनी बताउँछन् ।   जलनमा सर्जरी नेपालमा हरेक वर्ष ५५ देखि ६० हजार हाराहारीमा जलनको घटना हुन्छ । जसमा २ हजार बढीले ज्यान गुमाइरहेका छन् भने हजारौं अगंभंग अवस्थामा पुग्छन् । ४० प्रतिशत शरीर जलिसकेका व्यक्तिलाई बचाउन सक्ने सम्भावना न्यून हुने उनको भनाइ छ । ३० प्रतिशतसम्म गहिरो जलन भएका व्यक्तिमा प्लास्टिक सर्जरी आवश्यकता पर्छ ।  प्लास्टिक सर्जन डा. नीरन महर्जन जलनका धेरै बिरामीमा प्लास्टिक सर्जनको आवश्यकता पर्ने बताउँछन् । उनी नेपालमा वर्षेनी दुई हजार बढी बिरामीको जलनमा परी मृत्यु हुने गरेको तथ्याङ्क भएपनि अस्पतालमै नपुगेर घरमै मृत्यु हुनेको सख्या अझ धेरै  हुनसक्ने बताउँछन् ।  कुनै पनि चरम ताप, रसायन पदार्थ, करेन्ट तथा विकिरणले जलन हुने गर्छ । जलेका घटनाले शारीरिक मात्र नभइ पारिवारिक जीवनभर भावनात्मक रूपले धेरै गहिरो दख्खल दिएको हुन्छ ।  जलन भइसकेपछि सबैभन्दा पहिलो प्राथमिक उपचार घरमै गर्न सकिन्छ ।  शरीरमा भएका गहना कपडा खोलेर करिब २५ मिनेट जति जलेको ठाउँमा पानी खन्याउन सकिन्न्छ । त्यससपछि अस्पताल पुर्याउनदा जलनको प्रकारी गहिराइ र गम्भिरताका आधारमा धेरै विधागत स्वास्थ्यकर्मीको उपस्थितीतमा उपचार गरिन्छ ।  क्यान्सरमा सर्जरी त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. समित शर्मा क्यान्सर उपचारमा प्लास्टिक सर्जरीको आवश्यकता उत्तीकै रहेको बताउँछन् । ‘प्लाष्टिक सर्जरी एउटा यस्तो विद्या हो यो एक अंगमा मात्र समिति हुँदैन,’ उनी भन्छन्, ‘टाउकोदेखि खुट्टासम्म बच्चादेखि वृद्धसम्म सबैलाई आवश्यकपर्छ, क्यान्सर रोग लागेका बिरामीको उपचार गर्ने चिकित्सकहरूले छाला, मासु, हड्डी नशा सबैको उपचार गर्नुपर्छ ।’  नेपालमा भयानक क्यान्सरका बिरामीको उपचार भएका छन् । केही समय अघि शिक्षण अस्पतालमा एक जना बिरामी टाउकोको पछाडी भागमा ठूलो ट्युमर बोकेर आए । हेर्दै डर लाग्ने मासुको ढिको कपालमा थियो । अस्पतालमा उपचार सुरु हुँदा मासुको डल्लो काटेर फालियो । ट्युमर निकालिएपछि उनको टाउकोमा ठूलो भ्यवाङ पर्यो । क्यान्सर रोग विशेषज्ञले अप्रशेन गरिसकेपछि यो घाउलाई कसरी छोप्ने भन्नेबारे छलफल भयो ।  प्लास्टिक सर्जनसहितको सहभागितामा कसरी घाउ छोप्ने भन्नेबारे छलफल भइसकेपछि ढाडको मासु लिएर घाउलाई छोपियो । हामीले छोपेको ठाउँमा रौं त आउँदैन तर छोपेनौं भने संक्रमण हुनसक्ने, घाउ पाक्न सक्नेमात्र नभइ गिद्धीभित्र पनि संक्रमण फलन सक्ने डर हुन्छ,’ डा. समित भन्छन्, ‘प्लाष्टिक सर्जनको सहयोगमा क्यान्सरका विभिन्न अंगमा अप्रेशन गर्दा यसरी नै घाउ छोप्नुपर्ने हुन्छ ।’  जन्मजातका समस्यामा समेत सर्जरी कुनै रोग लागेर अस्पताल पुगेका बिरामीमात्र होइन, जन्मजात समस्या भएकाहरू पनि प्लाष्टिकको सर्जरी गर्नुपर्ने हुन्छ । जन्मिदै यस्त समस्या भएका बालबालिकाहरूलाई पनि उपचारको लागि अस्पताल ल्याइन्छ । डा. विशाल कार्की जन्मदै हात जोडिएका, औला जोडिएका वा कसैका बढी औला भएका बच्चाहरू आउने गरेको बताउँछन् ।  उनी यसको उपचारका लागि पनि प्लास्टिक सर्जरी गर्नुपर्ने बताउँछन् । उनका अनुसार आजभोलि सौन्दर्यको लागि प्लास्टिक सर्जरी गर्नेको संख्या नेपालमा पनि बढिरहेको छ । शरीरका हरेक अंग तन्काउन मिल्ने, खुम्च्याउन पनि पनि मिल्ने भएकाले नाक, कान, आँखा, स्तनदेखि सबै अंग सर्जरी गर्नेको संख्या बढिरहेको छ । सौन्दर्यका लागि होस् या दुर्घटना वा कुनै रोग लागेर होस् अस्पताल  विभिन्न कारण अस्पताल पुग्नु परेका बिरामीको प्लास्टिक सर्जरी आवश्यक पर्छ । तर नेपालमा आवश्यक मात्रामा प्लास्टिक सर्जनहरू छैनन् । हाल नेपालमा ५० जनासम्ममात्र प्लास्टिक सर्जरी गर्ने चिकित्सक रहेका छन् । प्लास्टिक सर्जन बन्नको लागि मास्टर गर्नुपर्यो त्यसपछि इन्र्टनसिप गरेर केही वर्ष काम गरेर प्रतिस्पर्धाका आधारमा जनरल सर्जरी पढ्नुपर्ने हुन्छ । यो पास गरिसकेपछि फेरि २ वर्ष काम गरेर परीक्षा दिनुपर्ने हुन्छ । यसमा पनि पास भइसकेपछि बल्ल अर्काे  तीन वर्ष पढ्नुपर्छ ।  डा. शकरमान राइ यस्तो लामो पढाइधेरै व्यक्तिले पढ्न नचाहदा सख्यामा कमी भएको बताउँछन् । उनी भन्छन्, ‘जनरल सर्जन भएर मात्रै प्लास्टिक सर्जन हुनुपर्ने भएकाले जनरल सर्जन हुने वित्तिकै काम गर्न पाइने भएकाले त्यो पछाडी तीन वर्ष फेरि पढ्न समय नहुँदा प्लास्टिक सर्जनको सख्या बढ्न नसकेको हो ।’  नेपालमा वर्षमा ६ जना चिकित्सकलाई प्लास्टिक सर्जन बन्न तालिम दिनसक्ने  अवस्था भएपनि गएको दुई, तीन वर्षदेखि तालिम लिने जम्मा दुई दुई जना मात्र भेटिएका छन् । प्रत्येक वर्ष ६ जना उत्पादन गर्न सकिने भएपनि दुईजना पनि मुस्किलले आउँदा नेपालमा आवश्यक अनुसारको जनशक्ति हुन नसेको राई बताउँछन् ।  उनी यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरिरहेको बताए । ‘लामो समय टुक्रा टुक्रा गर्नुभन्दा एमबीबीएस पछाडी नै स्पेसालिष्टमा जान पाउने बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ,’ उनले भने । पढ्न चाहने डाक्टरको समस्या  महाराजगञ्ज मेडिकल कलेजमा एमसिएच प्लास्टिक सर्जरी २०११ देखि सुरु भएको थियो ।  तर सुरुका दुई वर्षसम्म विद्यार्थी कोही पढ्न आएनन् । सिट त्यत्तिकै खेर गयो । यो वर्ष पनि न्याम्समा एउट सिट खालिरहेको प्रा.डा लोहोनी बताउँछन् ।  परीक्षामा क्वालिफाइड नगरिकन यो विषय पढ्न पाइदैन । हालसालै नेस्नल बोर्ड अफ मेडिकल स्पेसालिटी एनबीएमएस भनेर प्लास्टिक विषयको पढाइका लागि विभिन्न निजी अस्पतालबाट आवदेन परेको छ । उनी भन्छन्,‘भएको सिट खालिरहेको अवस्थामा निजी कलेजले अध्ययन अनुमती मागिरहेको कुरालाई धेरैले फरक अर्थमा पनि हेरिरहेका छन् ।  जुन गतिले अहिले विश्वमा प्लाष्टिक सर्जरीको विकास भएको छ  त्यो सापेक्ष विकास गर्न नेपाली चिकित्सक पनि प्रयत्नरत रहेको उनले बताए । उनी आफ्नो साढे २७ वर्षको रेसियो हेर्दा धेरै चेतना र सचेत भएको बताउँदै यो बीचमा ६ साढे ६ हजार मेजर अप्रेसन गरिएको बताउँछन्  ।  प्लाष्कि सर्जरीको  विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।  प्लास्टिक सर्जरीले न्युरो सर्जरी, कार्डियो थेरासिकभास्कुलर सर्जरीसँग पनि काम गर्नुपर्छ  भने गाइने सर्जरी सबैसँग काम गर्नुपर्छ । सबै विद्यासँग उत्तिकै जोडिएकाले प्लास्टिक सर्जरीको निकै महत्व रहेको लोहनी बताउँछन् ।   एशोसियसन अफ प्लास्टिक सर्जन्स अफ नेपालका सचिब प्रा डा.पीयुष दाहाल नेपालमा प्राचिनकालदेखि नै प्लास्टिक सर्जरीको इतिहास रहेको बताउँछन् ।   ऐतिहासिक पृष्टभूमिमा महादेवले जतिवेला गणेशको टाउको काटेर पछि टउकोलाई रिप्रण गरेका थिए यो । इतिहाससँग प्लास्टिक सर्जरीलाई जोड्ने गरिन्छ ।  यो कथा कहीँ न कहीँ स्वास्थ्यसँग पनि जोडिएको छ । प्रा.डा दाहाल सो सर्जरीको सुरुवात नेपाल अथवा हाम्रो क्षेत्रबाटै भएको इतिहाँस रहेको बताउँछन् । सुश्रुतलाई अहिले फादर अफ प्लास्टिक सर्जरी भन्ने गरिन्छ । उनले सिकेको नभइ पुस्तक लेखेको, औजार प्रयोग गरेको हुनाले ‘सुश्रुत संहिता’ भन्ने किताबमा प्रस्ट लेखेकाले  त्यही औजारकोहरूको विकास क्रममा विकास हुँदै जाँदा अहिलेको अवस्था पुगिएको मानिन्छ  ।  नेपालमा आधुनिक चिकित्सा सेवा वीर  अस्पतालबाट सुरु भएको मानिन्छ । त्यो भन्दा पहिले बैद्यले पनि सर्जरी गर्थे । यो सेवा धेरै पहिलेदेखि ब्रिटेनबाट आएको प्लास्टिक सर्जनहरूले सुरु गरेको थिए । यो कुरा अन्तराष्ट्रिय जर्नलमा पनि प्रकाशित भएको इतिहास पाइन्छ । यसैको आधारमा एउटा अभियान सुरु भएको थियो  त्यो बेला  प्लाष्टिकको सर्जरी सेवा दिएको भेटिन्छ । प्लास्टिक सर्जरी सेवा १९७३ अर्थोपेडिक डिपार्टमा सुरु भएको थियो । त्यो बेला प्लास्टिक सर्जन कोही पनि थिएनन् ।  पछिल्लो समयमा एचआरडिसी भनेर जोरपार्टीमा विकालंगहरूलाई सेवा पु¥याउने कार्यक्रम थियो प्लास्टिक सर्जरीको कार्य सुरु भयो । र १९८८ मा  प्लास्टिक सर्जरी सेवा सुरु भयो  र छुट्टै वर्नवार्ड  प्वालाष्टिक सर्जरी वार्ड बनेर २००१ देखि छुट्टै सेवाको विकास भयो । १९९५ मा त्रिवि शिक्षण अस्पतालमा सुरु भएको थियो । सबैभन्दा पहिलो केशवराज जोशी (केपि)ले प्लास्टिक सर्जरीको सुरुवात गरेका थिए भने त्यसपछि डा.शंकरमान राइ, प्रा.डा.इश्वर लोहनीहरूले यसलाई बिकासको धारमा अगाडि बढाएका थिए ।  काटिएको हात जोड्ने, काटिएको औलाहरू जोड्ने कामदेखि जलनको कामलाई पनि यही समूहले काम गरेको थियो । पछिल्लो समय काठमाडौंमा मात्र केन्द्रित नभइ यो सेवालाई दुरदराजमा पुर्याउनुपर्ने आवश्यकता पनि औल्याइएको छ । ‘मान्छेको चाहना पनि बढ्दै गयो, कपाल रोप्नदेखि राम्रो बन्ने चाहना पनि बढ्दै गयो । चाहना बढेसँगै सेवा पनि बढ्दै गयो डा. दाहल भन्छन्, ‘२०१८ मा आउँदा थोरै प्लास्टिक सर्जन थिए । त्यसपछि अझै प्वालिष्टक सर्जनको आवश्यकता भयो । प्वालाष्टिक सर्जरी एशोसिएसनको २०१७ मा स्थापना भयो । केन्द्रबाट दुर्गम क्षेत्रसम्म पुर्याउनुपर्छ भन्ने हिसाबले काम सुरु गरियो । नेपालमै  प्लास्टिक सर्जन उत्पादन गर्ने कार्य सुरु भयो ।’  प्लास्टिक सर्जरी यस्तो विषय हो यो कुनै एक अंग विशेषसँगमात्र सम्बिन्धत नभएर पुरै शरीर टाउकोदेखि खुट्टासम्मका सबै ठाउँका अपूर्णतालाई पूर्णतामा परिणत गर्ने जमर्को गर्छ । अहिले पनि जनमानसमा प्लास्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग गर्ने होइन भन्ने कुरा बुझाउन निकै गाह्रो परेको थियो । अहिले बिस्तारै मानिस सुसचित हुँदै गएका छन् । समस्याकै कुरा गर्ने हो भने जताततै समस्या छ । ‘सबै ठिक हुन्छ र काम गरौला भनेर बसेको भए सायद यहाँसम्म पुगिदैन थियो होला अहिले पनि सबै सुविधा शहरमामात्र केन्द्रित छ । दुरदराजमा उस्तै समस्या छ,’ प्रा.डा इश्वर लोहनीले भने । आधारभुत स्वास्थ्य सेवा सर्वसाधरणको पहुँचबाट टाढा रहेको अवस्थामा प्लास्टिक सर्जरीको विकास गर्न लामो यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।   

नेपाल मेडिसिटीले पियर किड्नी एक्सचेन्जमार्फत बचायो ४ जनाको जीवन

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो ।  एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् । श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो । अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएकै कारण पियर किड्नी एक्चेन्ज प्रत्यारोपण सफल भएको हो । यो शल्यक्रिया गर्दा एकैपटक दुई जना दाता र दुई जना प्राप्तकर्तालाई छुट्टाछुट्टै चारवटा अपरेशन कक्षमा एकैपटक शल्यक्रिया गरिन्छ । यसका लागि मिर्गौला रोग विशेषज्ञ, मिर्गौला सर्जनहरु, मुटुरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टस्,  तालिमप्राप्त नर्सहरुको टीमकै सहभागिता आवश्यक पर्दछ ।  नेपालमा पियर किड्नी एक्सचेन्जलाई कानुनी रूपमै मान्यता दिइएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ तथा संशोधित ऐन २०७२ अनुसार, दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले मन्जुरी दिएको मनासिब देखिएमा प्रत्यारोपण स्वीकृती समितिले स्वीकृति दिन सक्ने छ । अस्पतालमा प्रत्यारोपण गराएका बिरामीहरुको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको हो । नेपाल मेडिसिटीको यस सफल प्रयासले नेपाली मिर्गौला उपचार सेवा क्षेत्रमा नयाँ अध्याय थपेको छ । अस्पतालले भविष्यमा पनि यस्ता नवीनतम चिकित्सा अभ्यासहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।