काठमाडौं । एक समय डा. गोविन्द केसीको अनसन सुरु हुनेबित्तिकै देशभर समर्थनको लहर देखिन्थ्यो । चिकित्सा शिक्षा सुधारको मागलाई लिएर उनी सडकदेखि सामाजिक सञ्जालसम्म चर्चाको केन्द्रमा हुन्थे । उनका हरेक अनसनले सरकारलाई दबाबमा पार्थ्यो, मिडियामा प्रमुख स्थान पाउँथ्यो र सर्वसाधारणदेखि नागरिक समाजसम्मको उल्लेख्य साथ पाउँथ्यो ।
तर समयसँगै डा. केसीप्रतिको सार्वजनिक धारणा केही हदसम्म बदलिएको देखिन्छ । लामो अन्तरालपछि सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको पछिल्लो आमरण अनसनले समर्थनसँगै आलोचना पनि निम्त्याएको छ ।
विशेषगरी शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसम्बन्धी उनका मागलाई लिएर सुदूरपश्चिमका केही स्थानीय, राजनीतिक समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको कडा आलोचना गरिरहेका छन् ।
धनगढीमा अनसन सुरु गरेसँगै केहीले उनलाई सुदूरपश्चिमको विकासमा अवरोध गर्न खोजेको आरोप लगाएका छन् भने सामाजिक सञ्जालमा उनको विरोधमा टिका–टिप्पणीहरू पनि देखिएका छन् ।
केसीको अनसन सुदूरपश्चिमका लागि घातक भएकाले धनगढीबाट लखेट्नुपर्ने उनीहरूको भनाइ छ ।
सुदूरपश्चिममा सुरु भएको विश्वविद्यालयमा पठनपाठन सुरु हुन नदिने केसीको उद्देश्य रहेको भन्दै त्यहाँका युवाहरू केसीप्रति आक्रोशित बनेका छन् ।
धनगढीका युवा हरिश जोशी केसीले विश्वविद्यालय सञ्चालनमा आउन नदिने बहानामा अनसन सुरु गरेको भन्दै आपत्ति जनाए ।
विकासन्युजसँग कुरा गर्दै उनी भन्छन्, ‘यो विश्वविद्यालय सञ्चालनका लागि यहाँका नागरिकले ठूलो संघर्ष गर्नुपर्यो, पटक–पटक सरकारलाई दबाब दिई आन्दोलन गरी यो सफलता पाएका हौं । आन्दोलनपछि पाएको सफलतामा बाधा अड्काउन केसी आउँदा हामीले विरोध गरेका हौं ।’
उनीमात्र नभएर सुदूरपश्चिममा रहेका विभिन्न दलका संघसंगठन, युवा, बुघिजिवी सबै आक्रोशित भएका छन् ।
उनले यो विषयमा आफूहरूले डा. केसीलाई भेट्न जाँदा उल्टै माफिया, दलाल भन्दै थर्काएको बताए ।
अनसनसँगै सामाजिक सञ्जालमा चर्कियो विरोध
चिकित्सा शिक्षा सुधारका माग राख्दै धनगढीमा आमरण अनसन सुरु गरेका प्रा. डा. गोविन्द केसी यसपटक समर्थनभन्दा बढी आलोचनाको घेरामा देखिएका छन् । एक समय अनसन सुरु हुनासाथ देशभरबाट ऐक्यबद्धता र समर्थन पाउने केसीको पछिल्लो आन्दोलनले भने सुदूरपश्चिममा फरक प्रतिक्रिया जन्माएको छ ।
विशेषगरी सामाजिक सञ्जालमा सुदूरपश्चिमका केही युवाले केसीको अनशनप्रति असन्तुष्टि व्यक्त गर्दै गेटा मेडिकल विश्वविद्यालयको भविष्यसँग उनको आन्दोलन जोडिएको दाबी गरेका छन् ।
उनीहरूको आरोप छ, ‘केसीको आन्दोलनले सुदूरपश्चिमले लामो संघर्षपछि पाएको स्वास्थ्य विज्ञान विश्वविद्यालयको विकास अवरुद्ध हुन सक्छ ।’
फेसबुक प्रयोगकर्ता डम्बर भट्टराई लेख्छन्, ‘दूरदराजका नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हाम्रो वर्षौंदेखिको सपना हो । अहिले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन हुने चरणमा पुगेको बेला त्यसको विरोध गर्न आउनु सुदूरपश्चिमको हितविपरीत हो ।’
यस्तै, अर्का एक युवाले केसीको अनसनलाई अनुचित भन्दै सरकारले उनलाई तत्काल काठमाडौं फर्काउनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा केहीले उनी धनगढीमा अनशन बस्न नआउनुपर्ने र स्थानीय भावनामाथि खेलवाड नगर्नुपर्ने धारणा राखेका छन् ।
बिमला पन्त लेख्छिन्, ‘बल्लतल्ल सञ्चालनको चरणमा पुगेको गेटा मेडिकल कलेज सुदूरपश्चिमबासीका लागि खुसीको विषय हो । यस्तो बेला त्यसको विरोध गर्न आउनेलाई यहाँ स्थान दिनु हुँदैन ।’
त्यस्तै, मदन भट्टले पनि भावुक अपिल गर्दै लेखेका छन्, ‘केसीज्यू, कृपया सुदूरपश्चिम आएर यहाँको सपनामाथि खेलवाड नगर्नूहोस् । ठूलो संघर्षपछि स्थापना भएको संस्थालाई विवादमा नतान्नूहोस् । हाम्रो धैर्यको परीक्षा नलिनुहोस् ।’
केसी भन्छन्– ‘मेरो मागलाई गलत रूपमा बुझियो’
सुदूरपश्चिममा आफ्नो अनसनको विरोध चर्किँदै गएपछि डा. गोविन्द केसी भने आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरेका छन् । उनले आफू विश्वविद्यालय वा सुदूरपश्चिमको विकासको विरोधी नभई चिकित्सा शिक्षामा विधि, पारदर्शिता र सुशासनको पक्षमा उभिएको दाबी गरे ।
‘मेरो उद्देश्य विश्वविद्यालय वा सुदूरपश्चिमको विकास रोक्नु होइन। विश्वविद्यालयभित्र भएका गलत नियुक्ति र स्वार्थको द्वन्द्वविरुद्ध आवाज उठाएको मात्रै हो,’ विकास न्युजसँग कुरा गर्दै केसी भन्छन्, ‘मैले पत्रकार सम्मेलनमार्फत पनि आफ्नो धारणा स्पष्ट गरिसकेको छु । मेरो विरोध विश्वविद्यालयसँग होइन, त्यहाँ गरिएको प्रक्रियाविपरीत र स्वार्थ बाझिने नियुक्तिसँग हो ।’
उनका अनुसार सार्वजनिक विश्वविद्यालयमा निजी मेडिकल कलेजसँग प्रत्यक्ष सम्बन्ध भएका वा राजनीतिक दलसँग निकट व्यक्तिलाई नेतृत्वमा ल्याउनु चिकित्सा शिक्षा ऐन र सुशासनको मर्मविपरीत हो ।
‘मैले पहिलेदेखि नै सार्वजनिक संस्थामा योग्य, अनुभवी र निष्पक्ष व्यक्तिलाई नियुक्त गर्नुपर्छ भनेको हुँ । अहिले पनि त्यही माग दोहोर्याएको हुँ । सरकारले स्वार्थ बाझिने नियुक्ति गरेकाले त्यसलाई सच्याउन दबाब दिएको मात्र हो,’ उनले भने ।
डा. केसीले आफूविरुद्धको विरोध स्वतःस्फूर्तभन्दा पनि केही राजनीतिक समूहले योजनाबद्ध रूपमा फैलाएको आरोप लगाए ।
उनी भन्छन्, ‘मेरो मागलाई तोडमरोड गरेर प्रस्तुत गरिएको छ । केही राजनीतिक समूहले भ्रम फैलाइरहेका छन् । म बसेको धर्मशालामा समेत केही समूह आएर गालीगलौज गर्ने, होहल्ला गर्ने र व्यवस्थापनलाई मलाई निकाल्न दबाब दिने प्रयास भएको छ ।’
‘धम्कीले आन्दोलन रोकिन्न’
विरोध र दबाबका बीच पनि आफू अनशनबाट पछि नहट्ने डा. केसीको अडान छ । स्वास्थ्य क्षेत्र सुधारका लागि दुई दशकभन्दा बढी समयदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै उनले धम्कीबाट नडराउने बताए ।
‘मलाई स्थानीय, सरकार वा मेडिकल माफियाले जसले धम्की दिएपनि म आन्दोलन छोडेर भाग्नेवाला छैन । चिकित्सा शिक्षा सुधारका लागि सुरु गरेको अभियान कुनै दबाबले रोकिन्न,’ उनले भने ।
आफ्ना अघिल्ला आन्दोलनकै परिणामस्वरूप राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको, चिकित्सा शिक्षा आयोग स्थापना भएको र आर्थिक रूपमा कमजोर विद्यार्थीले छात्रवृत्तिमा पढ्ने अवसर विस्तार भएको केसीको दाबी छ ।
प्रदेश–प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुपनि आफ्ना आन्दोलनको उपलब्धिमध्ये एक रहेको उनी बताउँछन् ।
सुदूरपश्चिमको गेटा मेडिकल विश्वविद्यालयका विषयमा पनि आफूलाई गलत रूपमा चित्रित गरिएको उनको गुनासो छ ।
‘सुदूरपश्चिममा मेडिकल कलेज स्थापना हुनुपर्छ भनेर सबैभन्दा पहिले अनसन बस्ने म नै हुँ । त्यसपछि पनि चाँडो सञ्चालन हुनुपर्छ भनेर पटक–पटक आवाज उठाएँ । अहिले पनि विश्वविद्यालय सञ्चालन नै हुनुपर्छ भन्ने मेरो माग हो, तर केही तत्वले मेरो मागलाई तोडमरोड गरेर सुदूरपश्चिमविरोधी भएको भ्रम फैलाइरहेका छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,’ उनले भने ।
डा. केसीलाई कुनै समय सस्मितको साथ
डा. केसी पुनः अनशनमा बसेसँगै आठ वर्षअघि उनको आन्दोलनमा खुलेर समर्थन जनाएका वर्तमान शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पुरानो फेसबुक पोस्ट फेरि चर्चामा आएको छ ।
पोखरेलले ३ जुलाई २०१८ मा फेसबुकमा लेखेका थिए, ‘नेताहरूले बारम्बार झुटो आश्वासन दिँदै भोट माग्छन् । जनताले फेरि पनि तिनैलाई भोट हाल्छन् । तर जब डा। गोविन्द केसी जनताको मौलिक अधिकारका लागि माफियाविरुद्ध सत्याग्रहमा बस्छन्, त्यही जनताले ‘अब त अत्ति भयो, कति बस्या अनशन? पागल बुढा, अनशन बसेर केही हुँदैन, लोकप्रिय बन्न गरेको’ भन्ने गर्छन् ।’
उनले भनेका थिए, ‘माफियाविरुद्धको लडाइँ सहज हुँदैन । सरकारलाई च्यापेर बसेका हुन्छन् । त्यसैले म छाती फुलाएर भन्छु, डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म जहिल्यै उनको साथमा हुन्छु । जनताको साथले नै जित्ने हो यो लडाइँ । चाहे जे सुकै होस्, अन्त्यमा सत्यकै जित हुन्छ ।’
शिक्षामन्त्रीले भनेका थिए- डा. केसी जोसँग लड्छन्, म साथमा हुन्छु