पछिल्लो २४ घण्टामा थप ३ हजार ३७० जनाले जिते कोराना, हालसम्म कतिले जिते ?

 काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ३७० जनाले दोश्रो लहरको कारोना जितेका हुन् । यससँगै नेपालमा २ लाख ९८ हजार ७६५ जनाले कोरोनामुक्त भएका छन् । जुन कूल संक्रमितमध्ये ७७.४ प्रतिशत निको भएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केशहरू कूल ३ लाख ८५ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जानकारी गराएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ ।

२८ सांसदलाई कोरोना पुष्टि

काठमाडाैं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुसमेत हाल उपचारका क्रममा छन् । पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २८ पुगेका छन् । सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आवद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्र्याेल गरिने छ । कोरोना पोजिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पिपिई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ । कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष रुप लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।

त्रिवि शिक्षण अस्पताललाई काठमाडाैं महानगरद्वारा १० वटा भेन्टिलेटर सहयाेग

काठमाडाैं । काठमाडाैं  महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए । कोभिड महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा नै समस्या देखिन थालेपनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको बताए । उनले अहिले महानगर मानव जीवन बचाउने दायित्वको पुरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झीन पनि अनुरोध गरे । उनले सबै विकास निर्माणको काम थाँती राखेर भएपनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिबद्धता जनाए ।