बागलुङकाे धवलागिरि अस्पतालमा शय्या र अक्सिजनको अभाव
बागलुङ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष (आईसियू)मा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् । कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले भने, ‘शय्यासँगै अक्सिजनको पनि अभाव छ, यसरी नै सङ्क्रमित बढेमा अवस्था चिन्ताजनक हुने देखिन्छ ।’ उनका अनुसार पछिल्लो समय भर्ना भएका अधिकांश बिरामीलाई उच्च मात्रामा अक्सिजन दिनुपर्ने अवस्था छ । ‘अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ३५ देखि ४० सिलिण्डरसम्म अक्सिजन व्यवस्थापन भएपनि त्यो अपुग छ’, मेसु पाखरेलले भने, ‘चौबीसै घण्टा सङ्क्रमितलाई हाइ फ्लो अक्सिजन दिएर उपचार गरिरहुनपर्छ ।’ अस्पतालको प्लान्टले नधानेपछि अक्सिजन भर्न सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सङ्क्रमितलाई अक्सिजन दिन सिलिण्डरकोसमेत अभाव देखिएको छ । श्वासप्रस्वासको समस्या लिएर आउने सङ्क्रमित बढेसँगै अक्सिजन अपुग हुन थालेको हो । अस्पतालले यथाशक्य चाँडो पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउन गण्डकी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग माग गरेको छ । अघिल्लो वर्ष आइसोलेसन कक्षमा ५० शय्या पु¥याउने भनिएपनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । ‘अस्पताल भवनको सि ब्लक निर्माणमा ढिलाइ हुँदा पनि समस्या भएको छ, आइसोसेलन क्षमता बढाउन अन्यत्र संरचना नै छैन’, मेसु पोखरेलले भने । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीकोसमेत कमी छ । दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स दिनरात नभनी उपचारमा खटिएका छन् । गम्भीर लक्षणसहित अस्पताल आउने सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल शैय्या, अक्सिजनलगायतका स्वास्थ्य उपकरण र सेवा थप्नुपर्ने आवश्यकता देखिन्छ । अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष (आईसियू) र दुई वटा भेन्टिलेटर छन् । स्थानीय तहमा भएका कोभिड अस्पतालमा सामान्य अवस्थाका सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामस्थित धवलागिरि अस्पतालमै ल्याउनुपर्ने बाध्यता छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । कोरोनाका कारण जिल्लाका १४ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरले जानकारी दिए । बिहीबार मात्र धवलागिरि अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्ला दिनमा जिल्लामा कोरोना सङ्क्रमण तीव्र बनेको छ । आजै थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण बढ्दै गएपछि आजैदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालनामा स्थानीय प्रशासनले कडाइ गरेको छ । स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका कामलाई अघि बढाएका छन् । रासस
कांग्रेसको पर्वत पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै
फाइल फाेटाे पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताएका छन् । सुविधासम्पन्न यो भवनमा ५० शय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने उनको भनाइ छ । सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सवैलाई सहज हुने जोशीले बताए । पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन । रासस
प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरिँदै
फाइल फोटो काठमाडौं । मुलुकभर अक्सिजन सिलिण्डरको अभावमा विरामीको उपचार प्रभावित भइरहेको समाचार सार्वजनिक हुँदै गर्दा प्रहरीले स्थानीय सरोकारवाला सङ्घ संस्थाको समन्वयमा प्रयोगविहीन अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पतालमा पुर्याउन थालेको छ । केही अघि मात्रै अक्सिजन उद्योगको निगरानीको जिम्मा पाएको नेपाल प्रहरीले दुरुपयोग हुन नदिन र प्रयोगविहीन सिलिण्डरको खोजी गरी अस्पतालमा पुर्याउन थालेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । सोही क्रममा ललितपुर जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन १५९ अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा सङ्कलन गरिएको छ । उक्त सिलिण्डरमध्ये जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान सिलिण्डर उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही क्रममा ललितपुर प्रशासन प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विभागले अक्सिजन प्लान्टको अनुगमनसमेत थालेको जनाइएको छ । स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीव्रता ल्याउनुका साथै आमनागरिकमा यससम्बन्धी जानकारी भएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ । मुुलुकका अन्य जिल्लामा पनि अक्सिजन सिलिण्डरको खोजी जारी रहेको प्रहरीले जनाएको छ । अक्सिजन उत्पादक सङ्घले नेपालमा अक्सिजनको अभाव नभएको तर सीमित रहेकाले सिलिण्डरको अभाव भएको जनाउँदै आएको छ । अहिले मानिसहरुले घरमै सिलिण्डर ‘स्टक’ राख्दा समस्या भएको सङ्घले जनाएको छ । सिलिण्डरको अभाव पूर्ति गर्न सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । पछिल्लो समयमा अक्सिजनको अभावमा मानिसको मृत्यु भएको घटनासमेत सार्वजनिक भइरहेको छ ।