सरकार भन्छ अक्सिजन अभाव हुँदैन, काठमाडौंका ५ अस्पतालले अक्सिजन नभएको भन्दै थप उपचार रोके

काठमाडौं । नेपाल सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई संक्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्बय संक्रमितलाई रातरात अन्य अस्पतालमा सारिएको थियो । चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै संक्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएसगैँ अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण कोरोनाका धेरै विरामीहरु उपचार नै नपाई अकालमा ज्यान गुमाएका छन् । सरकारले प्रशस्त मात्रामा अक्सिजन रहेको दाबी गरिरहाँदा काठमाडौंका केही अस्पतालले उपचार गर्न नसक्ने जनाएका छन् । केही निजी अस्पतालले कोभिडका विरामीलाई चर्काे शुल्क लिने घोषणा गरेका छन् भने केही अस्पतालले अक्सिजन अभावका कारण नयाँ विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् । आईतबारसम्म काठमाडौँ उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावहुँदा कोरोनाका थप विरामी लिन नसक्ने भन्दै सूचना नै जारी गरेका हुन् । अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना संक्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालनमा ल्याइने बताइएको छ । ५ अस्पतालले थप उपचार गर्न नसक्ने काठमाडौं उपत्यकाका पाँच अस्पतालले अक्सिजन अभावका कारण कोभिडका थप विरामी राख्न नसक्ने जनाएका छन् । जसमा चाबहिलमा सञ्चालन गरिएका चार अस्पतालहरु मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु तथा हेल्पिङ ह्याण्ड्स अस्पताल र ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा समस्या भएको जनाएका छन् । चावहिलका चार अस्पतालले शनिबार संयुक्त विज्ञप्ती र गणेशमानले आईतबार बिहान एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका हुन् । अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने जनाइसकेका छन् । यस्तै, शुक्रबार नै ललितपुरको जावलाखेलमा रहेकोे अल्का अस्पतालले अक्सिजन अभाव भएको भन्दै अक्सिजनको आपूर्ति सहज बनाईदिन सरकारलाई आग्रह गरेको थियो ।

गुल्मीमा सात वर्षीय बालकले ५ दिनमा जिते काेराेना

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो । अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताए । कोरोना सङ्क्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड–१९ विशेष अस्पताल बनाइएको छ । अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन् । पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो । रासस

होम आइसोलेसनमा बसेकालाई अक्सिजन कम भए कुन औषधी खाने ? डा. अनुप सुवेदीको सल्लाह

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ ? (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) उत्तरः स्टेरोइड औषधी खान शुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ। अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। कि त Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Prednisolone 40 mg दिनको १ पटक खाना पछि खाने। यो औषधीले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ। औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन। तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ। यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं। (असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।) (डा. सुवेदीले सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेको यो सामग्री कोभिड संक्रमण भएर घरमै आइसोलेसनमा बसेका विरामीको लागि उपयोगी हुने महसुस गरी यहाँ राखिएको हो ।)