चितवनका दुई मेडिकल कलेज र भरतपुर अस्पताल अक्सिजन प्लान्ट विस्तार गर्दै
चितवन । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पु¥याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् । जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ । पुरानो मेडिकल कलेजले गैँडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले २४ घण्टामा ४०० सिलिण्डर उत्पादन हुँदै आएकामा २०० सिलिण्डरको क्षमता थप गर्न लागिएको बताए । उद्योगमा यसअघिनै प्लान्ट भएको भन्दै उनले ट्रान्सफरमर र स्टेपलाइजर जडान गरी यसै हप्ता थप उत्पादन गर्ने तयारी गरिएको उनले जानकारी दिए । सो मेडिकल कलेजमा हाल दैनिक ३०० सिलिण्डर आवश्यक पर्ने गर्दछ । चितवन मेडिकल कलेजले एक दिनमा ६०० सिलिण्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ । अस्पतालका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एलसी खोलेर प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘एक साताभित्र सामान जडान हुने अपेक्षा लिएका छौँ ।’ हाल अस्पतालको प्लान्टले २०० सिलिण्डर अक्सिजन हाराहारी उत्पादन गर्दै आएको । बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिण्डर अक्सिजनबाहिरबाट ल्याउनुपरेको छ । भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयबाट १२ करोड बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदै छ । दैनिक थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको उनको भनाइ छ । भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्छ भने खपत २०० भन्दा बढी रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालहरूमा आवश्यक पर्दछ । यहाँका चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उहाँले जानकारी दिए । जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोजनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ । यहाँ रहेको एकमात्र अक्सिजन ग्यास उद्योग स्वर्गद्वारीको दैनिक उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नुपरेको छ । यसअघि बालाजु काठमाडौँ र रुपन्देहीमा प्लान्ट भएको शङ्कर ग्यास उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको भए पनि यतिबेला स्थानीयस्तरमै खपत भएर आउन छाडेपछि यहाँ अभाव भएको हो । जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका सङ्क्रमितले उपचार गराइरहेका छन् । छिमेकी जिल्लाबाट सङ्क्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । हालसम्म भने जिल्ला र बाहिरबाट जुटाएर बिरामीका लागि अक्सिजन पु¥याइँदै आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । उनले भने, ‘जसरी भए पनि अहिलेसम्म बिरामीलाई अक्सिजनको अभाव हुन दिएका छैनौँ ।’ रासस
आजदेखि काठमाडौं महानगरभित्रका जोखिम स्थानमा एन्टिजेन परीक्षण
काठमाडौं । कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात् कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको छ । परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ ।’ महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्छन, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो ।’ ‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनेका छौँ ।’ परीक्षणका लागि कालीमाटीमा भेटिएका महाशाखाका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’ कसैको शरिरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि (लक्षण देखिनु अघि) कसैसँग कोभिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । पहिलो चरणमा करीब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरेर बुधबार वडा नम्बर ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौँ । महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओली भन्छन, ‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।’ परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।
मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि ९ करोड बजेट विनियोजन
सुरुङ्गा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो । बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।