नर्भिकमा काेराेनापछि देखिने स्वास्थ्य समस्याकाे लागि ‘कोभिड क्लिनिक’को सुरुवात

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउन सक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ । कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक संचालनमा ल्याएको हो । क्लिनिकमा कोभिडपछि देखिने सबै खालका स्वास्थ्य समस्याको उपचार गरिने अस्पतालले जानकारी दिएकाे छ । नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिडँ्रदा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छन । यस्ता समस्यालाई बेवास्ता गर्न नहुने डा. जैसवाल सुझाउँछन् । यस्ता समस्या हुनेहरुले नर्भिकको पोस्ट कोभिड क्लिनिकमा आएर स्तरीय उपचार सेवा लिनसक्ने उनले बताए ।

दमाैली अस्पतालमा अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा

दमाैली । तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । ‘कहाँनेर राख्ने भनेर ठाउँ हेरेका छाैँ, सम्झौता भएको कम्पनीले शुक्रबारसम्म जडान गरिदिने प्रतिबद्धता जनाएको छ’, अधिकारीले भने । प्लान्टबाट उत्पादित भएको अक्सिजन प्रत्येक बिरामीको श्ययामा विस्तार गरिनेछ । तत्कालका लागि सिलिण्डरमा भर्ने नभई पाइपलाइनमार्फत श्ययासम्म विस्तार गरिने अधिकारीले बताए । प्लान्ट स्थापनाका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष अस्पताललाई ७० लाख विनियोजन गरेको थियो । सङ्घीय सरकारमार्फत केही दिनअघि मात्रै ३० लाख विनियोजन भएको छ । प्लान्ट निर्माणका लागि अस्पतालले जयशङ्कर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना सङ्क्रमण दिनप्रतिदिन बढिरहेका बेला सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिको प्रसङ्ग चलिरहेको छ । गत वर्षको कोरोना कहरका बेला पनि यही प्रसङ्ग चर्चामा आएको थियो । अस्पतालको स्तरोन्नतिका लागि वर्तमान समिति पनि विगतदेखि नै लागिरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिँदा पनि कुनै परिणाम प्राप्त नभएको जानकारी दिए । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा अनेकौँ पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि शून्यकै स्थिति रहेको अधिकारीले बताए । ‘विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचानसहित सम्बन्धित निकायमा लगियो तर परिणाम हात लाग्यो शून्य’, उनले भने, ‘मौजुदा नियम कानूनले छेक्ने कुरा बारम्बार सुन्दा कानै पट्याए ।’ जनताको आवश्यकताका पछाडि नियम कानून बाधक छन् भने त्यसलाई परिवर्तन गर्नुपर्ने अधिकारीको सुझाव छ । ‘अस्पताल सञ्चालनका लागि अस्पताल परिसरमा निर्माण भएको नयाँ भवन पाउनका लागि तारन्तर नलागेको होइन, महिला तथा बालबालिका कार्यालय लागि तयार भवन पनि मागियो, तर उपलब्धि भएन’, उनले भने, ‘जग्गाको हकमा पछि बल्लबल्ल जिल्ला समन्वय समितिले चार रोपनी जग्गा उपलब्ध गराई सहयोग गरेको छ ।’ सोही जग्गामा अस्पताल भवन बनाउन डिपिआर भइरहेको अधिकारीको भनाइ छ । विसं २०६२ मा आफ्नै स्रोत साधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाए पनि अस्पताल समितिले सञ्चालन गर्न सहज नभएको अधिकारीको बुझाइ छ । वर्तमान अवस्थामा पनि अस्पतालले केही उल्लेख्य प्रगति गरेको अधिकारीले जानकारी दिए । अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयूकक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । रासस

क्यानडाबाट बागलुङकाे बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ४ लाखको स्वास्थ्य सामग्री

बागलुङ । ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ । केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ती सामग्री हस्तान्तरण गरेका थिए । कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी रु. चार लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गरेका थिए । ‘कोरोना रोकथाम र उपचारमा सहयोग पु¥याउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण ग¥र्यौँ’, उनले भने । ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । रासस