निम्बसले सहायता केन्द्रलाई वितरण गर्यो १० लाख बढी मास्क
काठमाडौं । निम्बसले कोभिड-१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । कम्पनीले जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको हो । निम्बसले अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ । निम्बसको प्रबन्धनिर्देशक आनन्द बगरिया भन्छन्,’आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।’ उच्च गुणस्तरको प्रो टेक प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।
मंगलबार करिब ५ हजार जनाले जिते काेराेना
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४ हजार ९५४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०३ जना र एन्टीजेटमाफर्त ८१९ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ८१३ पुगेको छ । मन्त्रालयकाे अनुसार पछिल्लाे समय देशभरी संक्रमण दर घट्दै छ ।
ललितपुर महानगरले कोभिड शिल्ड खोपकाे दोस्रो डाेज बुधबार दिने
ललितपुर । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ । लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज जारी गरेको सूचनामा जनाइएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी महानगरपालिकाले सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गराई खोप कार्यक्रममा सहभागी गराउने सूचनामा जनाइएको छ ।