काठमाडाैंमा सङ्क्रमण दर घट्दै

काठमाडाैं । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् । महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ । एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ । अघिल्ला हप्तामा अत्यधिक कोरोना सङ्क्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको सङ्ख्या घटेको र आउनेमध्येमा पनि थोरैमा मात्र सङ्क्रमण देखिएको छ । परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लग्ने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । उक्त एम्बुलेन्स सेवा कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्ने छ । ६३ हजार सङ्क्रमित निको हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन् । महानगरपालिकामा हाल रहेका सङ्क्रमितमध्ये तीन हजार ७२२ होम आइसोलेशनमा छन् भने १३५ संस्थागत आइसोलेशनमा र २२४ ले अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न सम्झौता गरी सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा आठ हजार ५०८ सक्रिय सङ्क्रमित छन् । त्यसमा काठमाडौँमा चार हजार ३९१, भक्तपुरमा एक हजार ७३२ र ललितपुरमा दुई हजार ३८५ सक्रिय सङ्क्रमित छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३६ मा झरेको छ । पच्चीस जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा माथि रहेको छ ।

नेपालमै उत्पादित रेमडिसिभिरले पायो बजार अनुमति, अधिकतम मूल्य ३५००

काठमाडौं । नेपालमै नेशनल हेल्थ केयरले उत्पादन गरिरहेको रेमडिसिभिर औषधीले बजारमा बिक्रि वितरण गर्ने अनुमति पाएको छ । कम्पनीले उत्पादन गरिरहेको यस औषधीले असार १३ गते अर्थात आइतबार बिक्रि वितरण गर्ने अनुमति पाएको हो । कम्पनीले गएको बैशाख ३१ गते यसको उत्पादन अनुमति पाएको थियो । यसको प्रति भायल अधिकतम खुद्रा मूल्य कम्पनीले ३५०० तोकेको छ । यसको ब्राणड नेम रेमसिभिर रहेको छ भने यस औषधि नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ओटिभाबाट नेपालभरी ओटिभा डिभिजनका डिस्ट्रिब्युटर्स मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ।

हेलम्बु र मेलम्चीवासीको उपचारमा जुटे प्रहरी अस्पतालका चिकित्सक

काठमाडाैं । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका डा श्रेष्ठले बताए । बिहिबार हेलम्बु–४ चिलाउनेघारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७९ को स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा १७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ्ग गरिएको छ । हेलम्बु–६ स्थित इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिविरमा १६२ को निःशुल्क उपचार गरिएको छ । इचोकमा १६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड र नौ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ । यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १६६ को निःशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ्य केन्द्रबाट १५६ लाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड र १० जनाको ‘माइनर’ शल्यक्रिया तथा १५ जनालाई ड्रेसिङ्ग गरिएको छ । अस्पतालको टोलीमा डा श्रेष्ठ सहित, प्रहरी उपरीक्षक डा आशिष दत्त(सर्जन), प्रहरी नायब उपरीक्षक निर्मल घिमिरे (फिजिसिएन), प्रहरी नायब उपरीक्षक सुवास थापा (आन्तरिक औषधी), प्रहरी नायब उपरीक्षक रोजीना मानन्धर (रेडियोलोजिस्ट), प्रहरी नायब उपरीक्षक मुत्ती घिमिरे (स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी प्रहरी नायब उपरीक्षक भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक शंकर थापा (दन्त रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन) र प्रहरी निरीक्षक डा. प्रबिना मास्के तथा डा. एलिना श्रेष्ठ टोलीमा संग्लन छन् । रासस