अभिभावकलाई सुझाव दिँदै नर्भिकले भन्यो- बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजानुहोस्

<p>काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुन सक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शैया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशन अनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको तेश्रो र चौथो लहर आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित [&hellip;]</p>

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुन सक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शैया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशन अनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको तेश्रो र चौथो लहर आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थाको मध्यनजर गरी आफ्नो स्वीकृत शैयाको २० प्रतिशत बढी शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राखेको हो ।

नर्भिकले कोभिड १९ को अब आउनसक्ने लहरको जोखिमबाट बालबालिकालाई बचाउन शैयाको व्यवस्थापनसँगै त्यस्तो अवस्थामा स्तरीय सेवा दिने डेडिकेटेड टिम समेत तयार गरेको छ । टिममा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरु रहेका छन् । नर्भिक अस्पतालले कोरोनाको संभावित अर्को लहरसँग जुध्ने कार्यमा राज्यले सहयोग गर्ने उद्देश्यले आवश्यक वैकल्पिक प्राणवायू(अक्सिजन) तथा अन्य सबै कामको पूर्वतयारी समेत सुरु गरिसकेको छ ।

नर्भिकले कोरोनाको दोश्रो लहरमा समेत आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गर्दै संक्रमितहरुलाई स्तरीय सेवा दिएको थियो । हाल कोभिड बिरामीको संख्या न्यून भए पनि कोभिडका लागि छुट्याइएको बेडहरुलाई अर्को लहरसँग जुध्न तयारी अवस्थामा राखिएको हो ।

यस्तै, नर्भिकले अभिभावकलाई आफ्ना बालबालिकामा कोरोना संक्रमितको सम्पर्कमा गएपछि देखिने मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमका लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल पुर्याउन समेत आह्वान गरेको छ । यो भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मृगौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । यो सामान्यतया बालबालिकामा पनि कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ ।

यसका लक्षणहरुमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु लगायतका रहेका छन् ।

कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेख गरिएकामध्ये कम्तीमा कुनै दुई लक्षण देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्ने विशेषज्ञ चिकित्सकहरुको सुझाव छ ।

Share News