कारोनाविरुद्ध लड्न इटाली सरकारले पठायाे विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री
काठमाडाैं । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री आज शुक्रबार बिहानै नेपाल आइपुगेको हाे । इटाली नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ । ‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा रहेको छ, यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह-आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ, युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो, पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ,’ नेपालका लागि इटालीका राजदूत महामहिम भिन्सेन्जो डि लुकाले भने । इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन् ।
स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन । उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । ‘कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ’, उनले भन, ‘हामी कुराभन्दा काममा विश्वास गर्दछाँै, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ ।’ उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने बताएका थिए । कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको भन्दै मन्त्री श्रेष्ठले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको बताए । उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउन स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् । यस्तै मन्त्री श्रेष्ठले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरे । पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए । उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको समेत जानकारी दिए ।
असार २२ गतेबाट चिनियाँ खोपको दोस्रो डोज लगाईने
काठमाडौं । जेठ महिनामा चिनियाँ खोपको पहिलो डोज लगाएकालाई सरकारले असार २२ गतेदेखि दोस्रो डोजको खोप लगाईदिने भएको छ । गत जेठ २५ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा (देशभर) ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नाागरिकलाई चिनियाँ खोपको पहिलो डोज खोप लगाईएको थियो । उक्त खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार बढी नागरिकलाई २२ गतेबाट दोस्रो डोज खोप लगाईने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । विभागले अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत उक्त अवधिमा दोस्रो बुस्टर डोज लगाईने जनाएको छ ।