आइतबार ३ हजार ४५६ जनाले जिते कोरोना, संक्रमण दर पनि घट्दै
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ४५६ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमाफर्त १ हजार २१ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ७२६ पुगेको छ । मन्त्रालयकाे अनुसार पछिल्लाे समय देशभरी संक्रमण दर घट्दै छ ।
निःशुल्क काेराेना परीक्षण पनि गराउन मान्दैन्न स्थानिय
भक्तपुर । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत जनसहभागिता घटेको छ । अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १० हजारको परीक्षण गर्ने लक्ष्य राखे पनि एक हजार ३०८ जनाको मात्रै परीक्षण भएको छ । नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रुपमा आह्वान गरेको, सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको बताए । ‘हामीले नगरपालिकामा कोभिडको अवस्थाबारे एउटा रिसर्च पनि होस् र नगरपालिकाको अवस्था कस्तो छ, कति जोखिम छ भनेर जानकारी लिन सकियोस् भनेर नेपालमै पहिलोपटक समुदायस्तरमा यति ठूलो परीक्षणको कार्यक्रम राख्यौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘तर जनसहभागिता निकै कम भयो, त्यसैले फेरि एक पटक यस्तो परीक्षण गर्नेबारेमा जनप्रतिनिधिबीच छलफल भएको छ, अहिले भने परीक्षणमा पोजेटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क गर्नेछौँ ।’ नगरपालिकाले वडागत रूपमा नौ थरी रङको कार्ड वितरण गरिएको जानकारी दिँदै यो कार्ड लिएर आउनेलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत थप छुट दिने व्यवस्था गरेको उनले बताए । नगरपालिकाले आफ्ना नागरिकका लागि कोरोना सङ्क्रमितको निःशुल्क उपचारदेखि परीक्षणमा सहभागी हुने सबैलाई कुनै पनि उपचार वा स्वास्थ्य सेवामा नगर अस्पतालले १० प्रतिशत छुट दिने व्यवस्था गर्दा पनि किन जनसहभागिता कम भयो यसबारे जानकारी लिएर अर्को परीक्षणको कार्यक्रम सार्वजनिक गरिने नगरपालिकाका प्रवक्ता केशव सिलवालले जानकारी दिए । नगरपालिकामा कतिपय नागरिकले परीक्षणको आवश्यकता नभएको, कतिपयले अझै पनि सङ्क्रमण देखिएला भन्ने डरका कारण, कतिपयले परीक्षणकै क्रममा कोरोना सर्छ भन्ने गलत हल्ला र कतिपयले कुन प्रयोजनका लागि परीक्षण भइरहेको छ भन्ने पूर्ण जानकारी नपाउँदा जनसहभागिता कम भएको पाइएको बताइएको छ । परीक्षणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सिसिएमसीका प्रमुख विशेषज्ञ डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव, प्राडा अरूण, डा दिबेश कर्माचार्यसहितको टोलीले विभिन्न केन्द्रमा गएर अनुगमन तथा निरीक्षण गरेको थियो । टोलीलाई नगरप्रमुख श्रेष्ठले एन्टीजिन र पिसिआर परीक्षणबारे जानकारी गराएका थिए । रासस
हेटौँडा उपमहानगरपालिकाद्वारा मेसिन किन्न आँखा अस्पताललाई १० लाख सहयोग
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन (स्लिपल्यान्ड) खरीद गर्नका लागि १० लाख हस्तान्तरण गरेका हुन् । अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको र अस्पतालमा मेशिन अभावका कारण बिरामी बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यतालाई दृष्टिगत गरेर सो रकम दिइएको उपमहानगरपालिका प्रमुख महतले बताए । यसैगरी उपमहानगरपालिकाको उक्त सहयोग रकमले मेशिन खरीद गरी बिरामीको आँखा परीक्षणलाई प्रभावकारी र सहज हुने अस्पतालले जनाएको छ । अस्पतालले मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन् । उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।