८६७ जना कोरोना संक्रमित थपिँदा १ हजार १ सय जना संक्रमणमुक्त, ९ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नर्भिकमा याे शनिबार दुई विशेषज्ञ डाक्टरले एकैदिन फ्रि ओपिडी सेवा दिने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत शनिबार(भोलि) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् । नर्भिकका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क शनिबरा ओपिडी सेवा दिने भएका हुन् । प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ । पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपिडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ । नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्रि ओपिडी सेवा ल्याउने गरेको छ । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को जानकारी नेपाली भाषामा दिने
काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड–१९ को जानकारी गराउने छ । कोभिड–१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ । पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् । भोलिदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन् । रासस