दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा १० प्रतिशत छुट पाइने
काठमाडाैं । दशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो । अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो । सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।
नेपालमा ६० प्रतिशतले घट्यो कोरोना सङ्क्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए । साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्नु सङ्क्रमण घट्नुको अर्को कारण भएको उनको भनाई छ । शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय सङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए । यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् । नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेशन, एक हजार १७२ जना संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा रहेका छन् । रासस
डाक्टर भन्छन्ः दशैंमा पोलेको, भुटेको र बोसो भएको मासु नखानुहोस्
चितवन । दशैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । यसले मुटु, मिर्गाैला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरुले बताएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताए । मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उनको भनाइ छ । ‘खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ । बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ,’ उनले भने । राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने खतिवडाको भनाइ छ । उनका अनुसार बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्छ । पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै उनले बोसोरहित मासु कम खान सुझाव दिए । खानपिनमा ध्यान नदिँदा धेरै मानिस दशैंका समयमा अस्पतालमा पुग्ने गरेको भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारी बताउँछन् । खानपिनमा सामान्य ध्यान नदिँदा दशैंका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उनले जानकारी दिए । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा अधिकारीले भने, ‘बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ ।’ नेपालीले चाडपर्वका अवसरमा दशैंमा प्रोटिनयुक्त र तिहारमा काबहाइड्रेडयुक्त खानाका साथै चिल्लो र चिसो पेयपदार्थ अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ । उनले चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै भने, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुने गरेको छ ।’ कोरोना सङ्क्रमण केही न्यून भएको अवस्थामा मानिसको बढी हिँडडुलले सरुवा रोगको प्रकोप वृद्धि हुने उनको भनाईछ । उनले भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र समय समयमा हात धुन सुझाव दिए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका चिकित्सक डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताए । उनले दशैंमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै भने, ‘बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने गर्नुपर्छ ।’ बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम रहेको साहको भनाइ छ । धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउन सघाउने उनको भनाइ छ । मानिसले प्रतिदिन ७० ग्रामभन्दा बढी मासु खान नहुने भन्दै उनले मासुको अत्यधिक सेवनले आन्द्राको क्यान्सर हुने सम्भावना बढाउने बताए । मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको जोखिम बढी भएको उनले जानकारी दिए । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान साहको सुझाव छ । चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शङ्कर लौडारी रातो मासुको अत्यधिक प्रयोगले संवेदनशील अङ्ग मुटुमा असर पार्ने जोखिम उच्च हुने बताए । उनले दशैंमा मासुको साथमा बजारमा पाइने पेयपदार्थको सेवन नगर्न सल्लाह दिँदै पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न आग्रह गरे । रासस