बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो । बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड दिँदै आएको छ । धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरु गर्ने योजना विश्वविद्यालयले बनाएको छ । ‘हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरुप दिन खोजिरहेका छौँ”, विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले भने, ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुच पुग्नेछ ।’ अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनको भनाइ छ । विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ । यो जग्गा बाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजि भइरहेको रजिष्ट्रार आचार्यले बताए । अस्पताल निर्माणपछि लुम्बिनी क्षेत्रवासीले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ । अहिले सामान्य उपचारका लागि पनि भैरहवा, बुटवल आउनुपर्ने बाध्यता छ । अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने परिकल्पना गरिएको छ । यसलाई विस्तार गर्दै ५० शय्यासम्मको अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा प्रवीन कर्माचार्य र दिनेश थापाको टोली तथा विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो । धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा आउटरिच सेन्टर चलाउँदै आएको छ । बौद्ध विश्वविद्यालयले सहकार्यका लागि प्रस्ताव गरेको हो । अस्पतालका डा कर्माचार्यले लुम्बिनीमा स्वास्थ्य सेवाका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताए । ‘हामी बौद्ध विश्वविद्यालयसँग जोडिन पाउदा खुसी छौँ, अस्पतालको योजना पूरा हुनेछ’, उनले भने । अस्पतालको प्राविधिक टोलीले विश्वविद्यालयका पदाधिकारीसँग छलफलसमेत गरेको छ । सो अवसरमा उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सञ्जीव हुमागाईंले आउटरिच स्थापनाले लुम्बिनीको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सकिने सुनाए । स्वास्थ्य जनचेतनादेखि उपचारसम्मको जिम्मेवारी विश्वविद्यालयले लिएर अघि बढ्न सक्ने उनको भनाइ छ । टोलीमा सहभागि लुम्बिनी प्रादेशिक अस्पतालका डा सागर न्यौपानेले लुम्बिनीमा जनरल सेवासहितको अस्पताल आवश्यक रहेको बताए । विश्वविद्यालयले विभिन्न दातासँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ । धुलिखेल अस्पतालले प्राविधक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ । तत्काल सानो स्वरुपमा अस्पताल सुरु गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना रहेको छ । रासस

बुधबार एक हजार ४३ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८९१ जना कोरोनाभाइरस संक्रमणमक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

तलब नपाएपछि बेनी अस्पतालका कर्मचारी आन्दोलनमा, आकस्मिक बाहेकको सेवा ठप्प

म्याग्दी । तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् । उनीहरुले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन् । ‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,’ उनले भनिन्,’अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।’ आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगङ्गा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउदा समस्या भएको बताए । बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देबी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुखेसो व्यक्त गरिन् । दृष्टिबिहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिइ घर फर्कदा दुःख मात्र पाएको गुनासो गरिन् । अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई वटा कार्यालयसमेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए । गण्डकी प्रदेश सरकार अन्तर्गतको अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए । लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भएपनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको उनले जानकारी दिए । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र ब्यवस्थापन समितिबीच छलफल गरेर सेवा सञ्चालन गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताए । रासस