२४ घण्टामा एक हजार ४७६ जना काेराेना सङ्क्रमित थपिए
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा एक हजार ४७६ जनामा सङ्क्रमण पाइएको हो । देशभर सक्रिय सङ्क्रमित २० हजार २८७ रहेका छन् । सङ्क्रमण दर १९ प्रतिशत रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५५० जनाले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.०३ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८१ जनाको निधन भइसकेको छ । हाल देशभर ३४७ सघन उपचार कक्ष (आइसीयू), १०५ भेन्टिलेटर, १८ हजार ९६९ होम आइसोलेसन, एक हजार ३१८ संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा रहेका छन् । आज कोरोना भाइरस विरुद्धको खोप एक लाख ७२ हजार ५९० जनाले लगाएका छन् । अहिलेसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा र ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
चितवनकाे पुरानो मेडिकल कलेजमा एकीकृत बहिरङ्ग सेवा सुरु
चितवन । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सिएमसी) (पुरानो मेडिकल कलेज) मा एकीकृत बहिरङ्ग सेवा शुरु गरिएको छ । बहिरङ्ग सेवामा जाने बिरामीले अब एकै ठाउँबाट सबै सेवा पाउने भएका हुन् । कलेजका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरङ्ग विभागमा पुगेपछि सबै सेवा त्यहीँबाट पाउने छन् । उनले भने, ‘सेवाग्राहीले बिमा वा सःशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्नेलगायत सबै सेवा एकै ठाउँबाट पाउँछन् ।’ वातानुकूलित कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ । अस्पतालको सबै विभागमा बीचमा खुला ठूलो कक्ष रहेको छ । त्यहाँ बिरामी पालोका लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । त्यही कक्षबाट भिडियो एक्स–रे, एमआरआइ, सिटी, एक्स–रे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । निर्देशक प्रधानले भने, ‘नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन गरेका हौँ ।’ उनका अनुसार भारतका ठूला अस्पतालमा यो सुविधा रहेको छ । हालसम्म नेपालमा अन्य अस्पतालले गर्न नसकेको काम आफूहरुले गरेको उनको दाबी छ । अस्पतालमा ११ विभागका १९ वटा कक्ष तयार गरिएको छ । अस्पतालमा मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाँटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् । हाल अस्पतालको बहिरङ्ग सेवामा दैनिक ६५० भन्दाबढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक तीन लाखभन्दा बढीलाई सेवा दिँदै आएको उनको भनाइ छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजबाट दुई हजार २०० भन्दाबढी चिकित्सक उत्पादन भइसकेका छन् ।
दशैं अघि नै बालबालिकाकाे लागि कोरोनाविरुद्धको खोप ल्याउँछाैं: राज्यमन्त्री श्रेष्ठ
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । उनले भने, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’ आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।’ फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए ।