टर्कीमा एकैदिन करिब २५ हजार सङ्क्रमित थपिए
अंकारा । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टामा मृत्यु हुनेको संख्या पनि १९७ पुगेको छ । केही समयपछि यहाँ मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन बृद्धि हुदै गएको बताइएको छ । यहाँका अधिकारीहरुले टर्कीमा अहिलेसम्म यो सङ्क्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् । टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो सङ्क्रमण पुगेको छ । पछिल्ला केही हप्तामा युरोपमा यो सङ्क्रमण बढ्दै गएको देखिएको छ । अहिले यहाँ सङ्क्रमणको दर झन् बढेको अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपिल पनि गरेको थियो । रासस/सिन्ह्वा
बिहीबार ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं । बिहीबार पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९ हजार ९ सय ५३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगैं नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ७ लाख ९७ हजार ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अब मिदासबाट सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने
काठमाडौं । मिदास टेक्नोलोजी र सिभिल सर्भिस अस्पतालबीच अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगैं मिदास टेक्नोलोजीको मोबाइल एप्लिकेसनमार्फत सर्भिस अस्पतालसँग दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि अनलाइन अपोइन्टमेन्ट लिन सकिने छ । बानेश्वरमा रहेको सिभिल अस्पतलसँग गरिएको यस सम्झौताले अस्पतालको ओपीडी सेवालाई सहज बनाउनुको साथै अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने मिदासले जनाएको छ । मिदास टेक्नोलोजीले विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्दै आएको छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ । हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि कम्पनीले २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेली कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ । यति मात्र नभई कम्पनीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीलाई दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा निः शुल्क परामर्श सेवा दिँदै आएको छ ।