अब देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने

काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने व्यवस्था गरेको छ । मन्त्रालयले विराटनगरको कोशी अस्पताल, धनुषाको जनकपुर अस्पताल, हेटौडाको मदनभण्डारी अस्पताल, विरगंजको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वा बि प्रतिस्ठ, बुटवलको लुम्बिनी अस्पताल, सुर्खेत अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन निस्शुल्क पाइने व्यवस्था गरेको स्वास्थ्यमन्त्री विराेध खतिवडाले जानकरी दिए । एकपटक लगाएपछि जिन्दगीभर पुग्ने यस भ्याक्सिन यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र पाइन्थियो । रेबिज इम्युनो ग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरि सुइको माध्यम्ले लगाइन्छ । सामान्यता एन्टिरेबिजको भ्याक्सिन लगाएको ७ दखि १० दिनभित्र मात्र शरिरले एन्टिबडी बनाउन थाल्दछ । एक वा एकभन्दा बढी घाउ हुने गरी टोकेको, ठुलो घाउ हुने गरी टोकेको अवस्थामा निम्तने जोखिमलाई तत्काल कम गर्न रेबिज इम्युनो ग्लोबुलिन लगाइन्छ । टेकुको मात्र विगत ७ वर्षको तथ्याङ्क हेर्ने हो भने रेबिजको कारण वार्षिक १५ दखेि ३६ जनासम्मको मृत्यु भएको देखिन्छ ।

नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू संचालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो कक्षको शुभारम्भ गर्दै मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज उपचार सेवा दिँदै आएको बताए । उनले टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बन्न सफल भएको र अहिले अस्पतालले तीन पिसीआर मेसिन सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’ अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले हाललाई दुई डायलायसिस मेसिनबाट दैनिक बिरामीको उपचार गरिरहेको जानकारी दिँदै रोटरी क्लबको सहयोगमा थप चार मेसिनबाट सेवा सुरु हुन लागेको बताए । अस्पतालले हाल २५ श्ययाको एचडीयू र १७ वर्षमाथि उमेरका बिरामीका लागि भेन्टिलेटरसहितको १० शय्याको आइसीयू सञ्चालन गरिरहेको छ । कूल १०२ शय्यामा सञ्चालित यस अस्पतालले नर्सिङ कलेज सञ्चालनको तयारीसमेत गरेको छ भने अस्पतालमा विभिन्न सेवा विस्तार गर्दै लगेको जनाइएको छ ।

अब खोप लगाउन बार र पालो कुर्नु पदैन: स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रुपमा अनुगमनका क्रममा उनले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए । ‘अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन’ मन्त्री खतिवडाले भने, ‘सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।’ उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ । मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनुुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । उनले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए । ‘खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेका हौँ,’ उनले भने । मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । उनले कोरोना भाइरस विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्याउने बताए । मन्त्री खतिवडाले कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइने बताए । ‘अर्थमन्त्रालयसँग रकम माग गरेका छौँ’, उनले भने । मन्त्री खतिवडाले कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकालगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने बताए । स्वास्थ्य बीमालाई सहज बनाइने उनको भनाइ थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाईमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताए । उनले कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उहाँहरुले अस्पतालमा खोप लगाएको अवस्थाको अनुगमन समेत गरेका थिए । कार्यक्रममा स्वास्थ्य सचिवव डा रोशन पोखरेल, नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीलगायतको उपस्थित थियो । फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । रासस