नर्भिकमा शनिबार स्तन क्यान्सरको निःशुल्क ओपिडी हुने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । आगामी शनिबार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यो सेवा अन्तर्गत प्रत्येक शनिबार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन् ।
१२ देखि १८ वर्षका बालबालिकाकाे लागि १ कराेड खाेप बुक भइसक्याे: स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले १२ वर्षदेखि १८ वर्षसम्मका लागि १ करोड खोप बुक भइसकेको बताएका छन् । स्वास्थ्यमन्त्री खतिवाडाले अमेरिकासँग १ करोड फाइजर र मोडर्नाको खोप बुक भइसकेको बताएका हुन् । उनले उक्त खोप ५० लाख जनाले पाउने र नपुगेको अवस्थामा थप ल्याउने पनि जानकारी दिए । सो खोप १५ दिनपछि आउन सुरु गर्ने उनले बताएका छन् । भर्खरै आइपुगेको १ लाख डोज भने प्रयोगात्मक पक्षको लागि भएको उनले बताए । यस्तै उनले १२ वर्षभन्दा मुनिका बालबालिकाको लागि चीन र भारतमा खोप परीक्षण तेस्रो चरणमा पुगिसकेको र त्यसले विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने बित्तिकै नेपालले पनि ल्याउने जानकारी दिए ।
कोरोना खोपमा कमी हुन नदिन प्रधानमन्त्रीकाे निर्देशन
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् । उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । असोज मसन्तसम्म एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । विगतमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी भएको अध्यादेश निष्क्रिय भइसकेपछि नेपाल सरकारले त्यसको व्यवस्थापनका लागि असोजमा आदेश जारी गरी सिसिएमसीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रमा रुपान्तरण गरेको थियो । बैठकमा उक्त केन्द्रबाट अहिलेसम्मको प्रगति विवरणको विषयमा र स्वास्थ्य मन्त्रालयबाट हालको कोभिड–१९ सङ्क्रमणको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था तथा खोपका बारेमा प्रस्तुतिकरण भएको थियो । बैठकले उक्त समन्वय केन्द्रको जनशक्ति व्यवस्था र सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको सचिव न्यौपानेले जनकारी दिए । सरकारले अवकाशप्राप्त रथी बालानन्द शर्माको नेतृत्वमा उक्त केन्द्र बनाएको थियो । बैठकले केन्द्रबाट हालसम्म भएको कामका लागि धन्यवाद दिएको छ । रासस