मंसिर १८ गते नर्भिकमा यूरोलोजीको टिम र बालरोग विशेषज्ञले निःशुल्क सेवा दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर १८ गते) दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपिडीबाट लाभ लिन सक्नेछन् । यस्तै, प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ । अस्पतालकाे अनुसार शनिबार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको यूरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी संचालन गर्नेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।
‘ओमिक्रोन’ बाट बच्न सरकारले थाल्यो पूर्वतयारी, सीसीएमसीमा छलफल हुँदै
काठमाडौं । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । सोमवार गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका हुन् । उनले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताए । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए । उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए । ‘अब अहिले बास्तवमा हामी कोभिड-१९ संक्रमणको नै क्रममा छौं । हामी कम्प्लिट्ली रिकोभर भइसकेको होइन । विभिन्न किसिमको भाइरसहरुको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले हालसालै ओमिक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ । त्यसपछि हामीले यसलाई शतर्कता अपनाउनको लागि अब हामीले के गर्ने ? भन्ने सन्दर्भमा अफ्रिकी मुलुक भनेको छ, यो देश, त्यो देश भनेको छैन । त्यसको प्रमाणिकता पनि हामीले पाइसकेको छैन । तै पनि शतर्कता अपनाउनु पर्छ संक्रमणको चरणमा छौँ भनेर हामीले अफ्रिकी देशहरुबाट आउने नागरिकहरुलाई यहाँ जुन अन अराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर हामीले अध्यागमन कार्यालय र २२/२३ वटा कति एयरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था पनि छ । उसले ल्याउँदा पनि ल्याउँदैन र यहाँ आउनु भयो भने इन्ट्री फ्रिज (प्रवेश नदिने) गर्छौं भनेर भनेको छ । यो भाइरस भनेको भोलि प्रमाणिकता होला, हामीमै पनि यहीँ डेभलप भएको हुनसक्छ । त्यसको बारेमा जे होला हामीले त्यही निर्णय गर्नुपर्छ । यस बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको अवस्था छ । त्यहाँ पनि हाम्रो तर्फबाट प्रतिनिधि जानुहुन्छ । जे कुरा आउँछ, त्यही अनुसार हामी टेक्निल सल्लाह बमोजिम कार्यान्वयन पक्षमा कडा रुपमा जान्छौँ । यो हामीले यहाँ मात्रै होइन, बोर्डर एरियामा पनि निर्देशन जारी गरिसकेको अवस्था छ । त्यहाँ पनि हेर्नुहोला । त्यो किसिमको मानिस आए, संक्रमण देखिए नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु होला भनेका छौं,’ प्रवक्ता पोखरेलले भने । प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए । उनले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्याउन निर्देशन दिएको बताए । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।
अब गङ्गालाल अस्पतालमा पनि पीसीआर परीक्षण शुल्क १ हजार
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह एक हजार कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणबापत लिइएको शुल्कमा एकरुपता कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो । गङ्गालाल अस्पताल सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क एक हजार ७०० लिँदै आएकामा एकरुपता नभएको भन्दै सुलभ मूल्य कायम गर्न निर्देशन दिएका थिए । अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिललगायतका सरकारी अस्पतालमा एक हजार कायम छ भने विदेश जानेका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले एक हजार २०० लिइरहेका छन् । स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पूरा गरी सोमबारबाटै लागू हुने गरी एक हजारमै पीसीआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । मुटुको शल्यक्रिया गर्ने बिरामीको पीसीआर गर्दा शुल्क एक हजार मात्र लिन मिल्ने गरी विलिङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । सरकारी अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्बन्धमा पनि छिट्टै निर्णय हुने उनले बताए । मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालका निर्देशक डा अधिकारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी नागरिकप्रति उत्तरदायी बन्न तथा पीसीआर परिक्षण शुल्क एक हजार कायम निर्देशन दिएका छन् । रासस