अब नेपालमा लगाएको कोभिड खोपले भारतमा मान्यता पाउने

काठमाडौं । नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने भएको छ । नेपाल र भारत सरकारबीच मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगैं  नेपालमा लगाएको कोभिडविरुद्धको खोपले भारतमा मान्यता पाउने भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितीमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा। रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् । यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।

नेपाल–कोरियामैत्री अस्पतालमा मंसिर ८ गतेसम्म निःशुल्क मुटु रोगको सेवा

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उनले बताए । अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आएका छन् । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख श्रेष्ठले बताए । मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उनले बताए । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ । रासस

उपत्यकाकाे प्रवेश नाकामा भेरोसेल र कोभिशिल्ड खोप दिइने

काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १ महिने खोप कार्यक्रम चलाएको हो । मंसिर ५ गतेबाट सुरु भएको उक्त कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ । काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइने महानगरले जनाएकाे छ । ‘संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामीले काठमाडौं महानगरबाहिरका नागरिकलाई पनि सेवा दिएका हौँ । देशका सबै नागरिक स्वस्थ्य भए भने काठमाडौं पनि सुरक्षित हुन्छ । त्यसैले हामीले आफ्नो भौगोलिक र कार्य क्षेत्रबाहिर गएर पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ,’  खोप कार्यक्रमका बारे महानगरका प्रमुख विद्यासुन्दरले भने । यससँगै महानगरका सवै (३२ वटै) वडाहरुबाट मंसिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । वडा खोप समन्वय केन्द्रले वडामा तोकेको केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरुबाट खोप दिइनेछ । यसमा १८ बर्ष उमेर समूह माथिका यस खोप लगाउन छुटेका सवै नागरिक र यस अघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यसमा भेरोसेल, कोभिसिल्ड/एक्स्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।