अब टेकु अस्पतालको इमर्जेन्सी सेवामा टिकटदेखि औषधिसम्म सबै निःशुल्क
काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो । कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेकी छिन् । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो । निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ । सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत रहेका छन् । ‘यो व्यवस्थासँगै नागरिकले जनमुखी सरकारको प्रत्याभूति प्राप्त गर्ने र नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने’, मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । उनले आगामी दिनमा अन्य सरकारी अस्पतालमा पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने विषयमा पहल भइरहेको बताए । रासस
चितवनकाे मौलाकालिका अस्पतालमा शिशुको लागि आइसियू सेवा सुरु
चितवन । जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै अस्पतालकासेवा प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिए । अस्पतालका प्रबन्ध निर्देशक डा केशराज भुर्तेलले यस अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए । अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले अस्पतालले १०० शय्या क्षमताको अत्याधुनिक भवन निर्माण गरी उच्चस्तरको सेवा दिने तयारीमा रहेको जानकारी दिए । अस्पतालका बालरोग विशेषज्ञ डा स्वेताकुमारी गुप्ताले जिल्लामा आवश्यकताअनुसारको पिआइसियु नहुँदा बिरामीले सेवा पाउन नसकेको जनाउँदै यस अस्पतालले सेवा सुरु गरेसँगै थप बिरामी लाभान्वित हुने बताइन् । सो सेवाअन्तर्गत एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । जिल्लाका दुई मेडिकल कलेज र निको बाल अस्पतालबाहेक अन्यत्र यो सेवा नहुँदा बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् । सरकारी अस्पतालमा समेत यो सेवा सुरुआत हुन सकेको छैन । मौलाकालिकाले जन्मिएदेखि एक महिनासम्मका बालबालिकालाई उपचार गर्ने १० शय्याको बाल सघन उपचार कक्ष, छ शय्याको सघन उपचार कक्षसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा प्रसूति, हाडजोर्नी, सर्जिकल, मनोरोग, युरोलोजी, मेडिसिन, रेडियोलोजीलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।
भारतमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’
काठमाडौं । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएको छ । बिहिबार भारतको कर्नाटाकामा यस नयाँ भेरियन्टको दुई नयाँ केस देखिएको हो । हालसम्म २९ देशहरुमा यसको ३७३ भन्दा बढी केसहरु देखिसेकेको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा सबैभन्दा पहिला देखिएको यो नयाँ भेरियन्ट हालसम्म नेपालमा भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट संक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुमा असर पार्ने देखिएको हुनाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनकाे अनुसार यसबारे थप अध्यन भइरहेको छ ।