भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने
बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । उनले भने, ‘भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं ।’ झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ । रासस
कोरोनाविरुद्धको दुई डोज खोप लगाएकाले बुस्टर डोज लगाऔं: स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । उनले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए । ‘बोस्टर डोजसँग गाँसिएका कुराहरु आए । यसको नाम बोस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बोस्टर डोज भनियो । ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ । प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ । सरकारी संयन्त्रलाई मिलाएर बोस्टर डोज दिने भन्ने कुरा मन्त्रीपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ,’ उनले भने । मन्त्री खतिवडाले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँगाउँमा गई कोरोनाविरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरुलाई आग्रह गरे ।
नेपालमा ‘ओमिक्रोन’ आयो भने गाह्रो हुन्छ, त्यसको आवश्यक पूर्व तयारी थाल्नुस्: घर्ती
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएकी हुन् । उनले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिएकी छिन् । त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकि जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् । सभापति घर्तीले भनिन्, ‘खोपलाई छिटो भन्दा छिटो जनताकोमा पुर्याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नु भएको छ, हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु, ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ, किनकी थोरै हुन्छन्, त्यस्तो गरे सजिलो हुन्छ, यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस्, खोप लगाउने नियमित समय नतोकिकन खुल्ला राख्नुपर्छ, बाहिरबाट आएका मानिसहरुलाई खोप नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्छ, हामीले आह्वान गरेको दिन कसैले थाहा पाउला कसैले पाउँदैनन् यस्तो भयो भने सजिलो हुन्छ, ओमिक्रोन त्यति धेरै जटिल रहेनछ भन्ने कुरा हामीले बुझ्यौं, ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्छ, यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्व तयारीको लागि मन्त्रालय लाग्नुस्, नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ, त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ, अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ, नेपालको समस्या के छ भने एकपटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने गरेको छ, त्यसलाई व्यवस्थित गनुपर्छ ।’ सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिएकी हुन् ।