काठमाडौं । सामान्यतः शरीरमा केही असजिलो महसुस भएको अवस्थामा मात्र स्वास्थ्य परीक्षणको लागि अस्पताल जाने धेरैको बानी हुन सक्छ । तर, चिकित्सकहरु एउटा स्वस्थ व्यक्तिले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउनु पर्ने बताउँछन् ।
स्त्री रोग विशेषज्ञ डा. सुशीला वैद्य ३५ वर्षदेखि माथिका सबैले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछिन् ।
‘३५ वर्षदेखि हाम्रो शरीरमा आएका विभिन्न परिवर्तनको कारण हामीलाई विभिन्न रोगहरु देखा पर्दछ, यो उमेरबाटै मानिसहरुलाई क्यान्सर, मृगौलामा समस्याहरु देखापर्न सुरु हुन्छ, त्यसैले ३५ वर्षदेखिका माथिको उमेरका सबैले स्वास्थ्य परीक्षण गराउनुपर्छ,’ उनले भनिन् ।
वर्षमा एकपटक स्वास्थ्य परीक्षण गर्दा भविष्यमा देखापर्ने सम्भावित रोगहरु पत्ता लगाउन मद्दत गर्ने स्त्री रोग विषेशज्ञ डा वैद्यको भनाई छ ।
‘एउटा व्यक्ति फिट र स्वस्थ छ भनेर सुनिश्चित गर्न नियमित स्वास्थ्य परीक्षण आवश्यक छ, यसले तपाईंको स्वास्थ्य समस्याहरूलाई कम गर्न र सम्भावित रोग लाग्नबाट बच्न मद्दत गर्छ,’ उनले भनिन् ।
वैद्यका अनुसार उमेर, स्वास्थ्य, पारिवारिक इतिहास र जीवनशैली छनोट जस्ता विभिन्न कारकहरूले शरीरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्ने हुनाले समयमै पहिचान गरिनुपर्छ ।
डाक्टरहरुको यही सुझावलाई ध्यान दिदै स्वास्थ्य संस्थाहरुले ‘होल–बढी चेकअप’को प्याकेज ल्याउने गरेका छन् । शरीरका महत्वपूर्ण अंगहरुको स्वास्थ्य परीक्षण गरिने यस्तो प्याकेजभित्र के–के पर्छ र कुन–कुन निजी अस्पतालमा कति शुल्क लाग्छ भन्ने विषयमा केन्द्रीत रहेर हामीले यो सामग्री तयार पारेका छौं ।
के–के परीक्षण गरिन्छ ?
१. सीबीसी
यो एउटा सामान्य रगतको परीक्षण हो, जसले रक्तअल्पता संक्रमण, ल्युकेमिया जस्ता रोग पत्ता लगाउँछ । यो टेष्टले रातो रगत कोशिका, सेतो रगत कोशिका, हेमोग्लोबिनको अवस्था पत्ता लगाउँछ ।
यस परीक्षणले कम्पोनेन्टहरुको गणनामा देखाएको असामान्यताले थप परीक्षण आवश्यक छ वा छैन भनेर पनि जानकारी दिने गर्छ ।
२. इएसआर
शरीरमा सुन्निने वा संक्रमण भएको अवस्थामा इएसआरको लेभल बढ्छ । त्यसलै शरीरमा केही संक्रमणहरु छ कि भन्ने यस परीक्षण मार्फत पत्ता लगाउन सकिन्छ ।
३. एफबीएस
रातभर खाली पेट बसेपछि बिहान रगतको नमूनामा ग्लुकोज (चिनी) कति छ भनेर निर्धारण गर्ने परीक्षण हो यो । यो परीक्षण सामान्यतः मधुमेह मेलिटस पत्ता लगाउन प्रयोग गरिन्छ । कुनै पनि व्यक्तिले खाना खानु अघि बिहान यो परीक्षण गरिन्छ ।
४. लिपिड प्रोफाइल
लिपिड प्रोफाइल भनेको रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा नाप्ने रगत परीक्षण हो । यसले मुटुलाई रगत पठाउने रक्तनलीको अवस्था पत्ता लगाई यसमा आउन सक्ने सम्भावित जोखिमको बारेमा जानकारी दिन्छ ।
५. किड्नी फङ्गसन टेष्ट
यो टेष्ट दुई प्रकारको रहेको छ । एक पिसाब टेष्ट गरेर त्यसमा भएको विभिन्न प्रोटिनहरुको जाँच गरिन्छ, जसले मिर्गाैला (किड्नी) मा देखिन सक्ने सुरुवाती जोखिमबारे पत्ता लगाउँछ । अर्को टेष्ट रगतमार्फत गरिन्छ, जसले मिर्गाैलामा लागेको रोग कुन चाहिँ अवस्थामा छ भन्ने पत्ता लगाउँछ ।
६. लिभर फङ्गसन टेष्ट
यो टेष्ट रगतमा इन्जाइम र प्रोटिनको स्तर मापन गरेर कलेजको अवस्था बारे पत्ता लगाउन गरिन्छ ।
७. युरिक एसिड
जोर्नीहरु दुखेको वा स्टोन भएको शंका लागेको यो परीक्षण गरिन्छ ।
८. थाइराइड टेष्ट
शरीरमा थाइरोइड ग्रन्थी बढि वा कम हुनु अस्वस्थ मानिन्छ । यो परीक्षण शरीरमा थाइरोइड ग्रन्थीहरूको अवस्था पत्ता लगाउन गरिन्छ ।
९. दिसा परीक्षण
यो परीक्षण दिसामा हाम्रो आँखाले देख्न नसकेका रगत बारे पत्ता लगाउन गरिन्छ । यलसले शरीरको पाचन प्रणालीको अवस्था बारे पत्ता लगाउन सहयोग गर्छ ।
१०. पिसाब परीक्षण
यस परीक्षणले मिर्गाैला रोग, कलेजोको रोग, मधुमेह, वा क्यान्सर जस्ता गम्भीर रोगहरूको सुरुवाती अवस्था बारे पत्ता लगाउन मद्दत गर्दछ ।
कुन निजी अस्पतालमा कति लाग्छ शुल्क ?
विभिन्न अस्पतालहरुले होल–बढी चेकअपको लागि प्याकेज नै ल्याएका छन् । हामीले काठमाडौं उपत्यकाभित्र निजी क्षेत्रबाट संचालित प्रमुख अस्पतालहरुले होल–बढी चेकअपमा लिने शुल्कबारे जानकारी दिएर यहाँ प्रस्तुत गरेका छौं ।
१. अल्का अस्पताल
जावलाखेलस्थित अल्का अस्पतालमा स्वास्थ्य चेकजाँचको लागि विभिन्न प्याकेजहरु रहेको छ । अस्पतालमा बच्चाको लागि १ हजार ६३५ शुल्कको जेनेरल चाइल्ड हेल्थ चेकअप र ४ हजार ३८० को स्टायण्डर्ड हेल्थ प्याकेज उपलब्ध रहेको छ ।
यस्तै अस्पतालमा ३ हजार ६८५ शुल्कको बेसिक वेलनेस प्याकेज र ५ हजार ३८० को स्ट्याण्डर्ड वेलनेस प्याकेज रहेको छ । महिलाको लागि १६ हजार २९५ र पुरुषको लागि १६ हजार ६२० रुपैयाँको एक्जिक्युटिभ हेल्थ प्याकेज रहेको छ ।
२. सुमेरु सिटी अस्पताल
पुल्चोकीस्थित सुमेरु सिटी अस्पतालको पनि ४ वटा स्वास्थ्य प्याकेजहरु रहेका छन् । अस्पतालले ४ हजार, ७ हजार, ११ हजार र १४ हजारको गरी चारवटा प्याकेज संचालन गरिरहेको छ ।
३. नर्भिक अस्पताल
थापाथलीस्थित नर्भिक अस्पतालले ७ वटा विभिन्न स्वास्थ्य प्याकेजहरु प्रदान गरेको छ । अस्पतालले सात हजार ९६८ रुपैयाँ, १० हजार रुपैयाँ, दश हजार ५७ रुपैयाँ, ११ हजार २१ रुपैयाँ, ११ हजार ७७७ रुपैयाँ, १२ हजार ४७० रुपैयाँ र १३ हजार १२६ रुपैयाँको प्याकेजहरु रहेका छन् ।
४. ओम अस्पताल
चाबहिलस्थित ओम अस्पतालमा पनि विभिन्न स्वास्थ्य प्याकेजहरु छन् । अस्पतालमा बालबालिकाको लागि ५ हजारदेखि १६ हजारसम्मको प्योकेजहरु रहेको छ । यस्तै अन्यको लागि ८ हजार ५०० को प्याकेजहरु रहेको छ ।
५. मेडिसिटी अस्पताल
भैसिपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पनि स्वास्थ्यका विभिन्न प्याकेजहरु रहेका छन् । अस्पतालमा महिला र पुरुषको लागि ११ हजार ७०० रुपैयाँको कम्प्रिहेन्सिभ हेल्थ प्याकेज, १२ हजार रुपैयाँको विमन हेल्थ प्याकेज र २३ हजारको सिनियर हेल्थ प्याकेज रहेको छ ।
६. ग्राण्डी इन्टरनेशनल हस्पिटल
टोखास्थित ग्राण्डी इन्टरनेशल हस्पिटलमा २ हजारको बेसिक वेलनेस चेकअपदेखि लिएर एक्जिक्युटिभ फिमेल वेलनेस चेकअप रहेको छ । यस्तै अस्पतालमा ५ हजार ५०० शुल्क लाग्ने स्टयाण्डर्ड वेलनेस चेकअप र २० हजार शुल्कको सिनियर सिटिजन वेलनेस चेकअप रहेको छ ।
७. ह्याम्स अस्पताल
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ९ हजार ५०० शुल्कको कम्प्रिहेन्सिभ हेल्थ प्याकेज, १० हजारको विमन्स हेल्थ प्याकेज र १४ हजारको सिनियर हेल्थ प्याकेज रहेको छ ।