
काठमाडौं । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ सरकारले स्वीकृत गरेको छ ।
सरकारले कार्यविधि स्वीकृत गरेसँगै मिर्गौलाको डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीले त्रैमासिक रुपमा १५ हजार उपचार खर्च पाउने बाटो खुला भएको छ । सम्बन्धित रोगका बिरामीहरुले त्रैमासिक रुपमा स्थानीय तहमार्फत १५ हजार रुपैयाँ पाउने भएका हुन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल मिर्गौलाका ३४ हजार ३० जना, क्यान्सरका १६ हजार ५५० र मेरुदण्ड पक्षघातका ६१० बिरामी छन् ।
कसरी पाइन्छ यो भत्ता ?
कार्यविधि बमोजिम बिरामीले औषधि उपचारबापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी, चिकित्सकको सिफारिस चाहिन्छ ।
मेरुदण्ड पक्षघातका बिरामीले अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित सम्बन्धित स्थानीय तहको वडाकार्यालयमा निवेदन दिनु पर्नेछ ।
कसले पाउँदैनन् यो भत्ता ?
कार्यविधिको अनुसार नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी/निवित्तिभरण वा विदेशी सरकारबाट रोजगारी/पेन्सन प्राप्त गरिरहेको व्यक्तिले पाउने छैनन् ।
त्यसगरि, नेपाल सरकारबाट उपलब्ध गराइदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता, अपांग भत्तालगायत नेपाल सरकारबाट साबिकमा पाइआएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराइने मध्ये कुनै एक किसिमको भत्ता/मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो गर्ने गरी यस किसिमको भत्ता पाउने छैनन् ।