भारतमा एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ । यस समयमा भारतमा ७७५ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना सङ्क्रमण निको भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको सहयोगमा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बन्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बन्ने भएको छ । इन्स्योरेन्सले सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गर्न वार्षिक २० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । सो सम्बन्धमा इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशनबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ भने अस्पतालको संचालनको लागि इन्स्योरेन्सले तीन वर्षको अवधिको लागि प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । यससँगै १५ शैय्याको सामूदायिक अस्पतालको सञ्चालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने कम्पनीको विश्वास छ । समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद दिएका छन् । कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरुदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पुर्याई आएको छ ।
नर्भिकमा जेठ ७ गते यूरोलोजीको निःशुल्क ओपिडी हुने
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(जेठ ७ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।