थाइराइडका बिरामीहरुलाई अल्का अस्पतालमा छुट, टिएफटी परीक्षण निःशुल्क

ललितपुर । थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका बिरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पतालको प्राङगणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका बिरामीहरुलाइ गरिने परीक्षणहरुमध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पताला प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए । शिबिर गर्नुअघि थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले जनचेतनामुलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुदैँ पुन जावलाखेल आएर सकिएको थियो । र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङता भएका ब्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए ।  

यसकारण पुनः उत्कृष्ट भयो भेरी अस्पताल, पायो ६७ अङ्क

भेरी । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट डा वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिवको टोली अस्पतालमा आउने र त्यसैका आधारमा अङ्क दिने गरिएको छ । गत वर्ष पनि भेरी अस्पताल ६१ अङ्क पाएर उत्कृष्ट भएको थियो । रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ । रासस

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन भएका छन् । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो । त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई/दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । राष्ट्रपति भण्डारीले भने, ‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचालन गर्ने नीति लिईनेछ । सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ ।’