पछिल्लो समय काठमाडौं उपत्यका भित्रका केही ठाउँहरुमा हैजाबाट संक्रमित भएका बिमारीहरु देखा पर्न थालेका छन् । हैजा देखा परेको समाचार बाहिरिएसँगै जनमानस अहिले त्रसित बनेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएका नागरिकलाई पुनः हैजाले समस्या त सिर्जना गर्ने होइन भन्ने चिन्ता थपिएको छ । के काठमाडौं उपत्यकाभित्र समयमा फोहोर नउठ्ने समस्या, गर्मी र वर्षाको शुरुवातसँगै हैजा प्रकोपको जोखिम बढ्दै गएको हो ? प्रस्तुत छ हैजा रोगको विषयमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग विकासन्यूजका नारायण अर्यालले गरेको कुराकानी ।
पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाको प्रकोप बढेकाे हाे ?
हैजा केही मानिसहरुमा देखिएको छ । हैजाले विशेष सतकर्ता अपनाउन पर्छ भन्ने सन्देश दिएको छ । अहिले खानेकुरा तथा पानीको कारणले धेरै मानिसहरुमा झाडापखाला लागेको देखिएको अवस्था छ । ती झाडापखाला लागेका कतिपय बिमारीहरु अस्पतालमा र कतिपय बिमारीहरु घरमै रहेर उपचार गराइरहेका छन् । अहिले नागरिकले अलि बढी ध्यान दिनुपर्याे । हैजा भनेको अलि कडा नै मानिन्छ । हामीले बढी सतकर्ता अपनाउन जरुरी छ ।
केही समय अगाडिदेखि काठमाडौंमा समयमा नै फोहोर उठ्ने समस्या देखिएको थियो, कतिपय ठाउँमा अझैपनि फोहोर उठ्न बाँकी नै छ । के फोहोरको कारणले पनि हैजाको संक्रमण बढ्न लागेको हाे ?
फोहोरले सम्भावना त बढाइहाल्छ । सापेक्ष रुपमा फोहोरको पनि केहि न केही कन्ट्रिव्युसन त हुन्छ । फोहोरको कारणले जोखिम हुनसक्छ भनेर हामीले पहिला पनि भनेका थियौं । फोहोर अहिले उठेपनि फोहोर उठ्नभन्दा अगाडि धेरै मान्छे संक्रमित भैसकेका थिए होलान् । मान्छे संक्रमित भएपछि उसको दिसाबाट ब्याक्टेरियाहरु आउन सुरु हुन्छ । त्यसपछि राम्रोसँग सतर्क नहुँदा, हात नधुँदा र खानेकुरा तथा पानीमा ब्याक्टेरिया पर्याे भने फैलने सम्भावना बढी हुन्छ । अहिले काठमाडौं सफा गरेपनि जब मानिसमा हैजा देखिन थाल्दछ, मान्छेबाट मान्छेमा संक्रमण हुने कुरा यसले निरन्तरता पाइहाल्छ । त्यसैले शुरुमा नै फोहोरलाई अलिक बढी व्यवस्थित गर्नुपर्छ । तर, फोहोर नै नहुँदा पनि हुँदैनथ्यो भन्ने प्रश्न पनि हुनसक्छ । फोहोर नै नहुँदा पनि विगतमा बेला बखतमा हैजा देखिने गरेको छ ।
विगतमा फोहोर समयमा उठिरहेको अवस्थामा भन्दा नउठेको अवस्थामा हैजाको संक्रमण बढ्ने संकेत देखिएको हो र ?
त्यसो भएको भनेर त मैले भन्दिनँ, किनभने अहिले २/४ जनामा मात्रै देखिएको छ । फेरि यहाँ परिक्षण सबैले गर्दैनन् । साधारण अवस्थामा आउँदैनन्, कडा भयो भने मात्रै आउने हो । विगतको कतिपय अवस्थामा हप्तामा ५०/६० जनालाई पनि देखिएको थियो । आजभन्दा २० वर्ष अगाडि मैले जागिर शुरु गर्दा घण्टामै ३०/४० जना हैजाका बिमारी आउने गर्दथे । त्यसैले त्यो बेला र अहिलेको त तुलना गर्न मिल्दैन् । तर, हैजा नेपालमा देखिन छोडेको अवस्था भयो भन्ने स्थिति पनि होइन । यो बेलाबखतमा देखिने गरेको छ । काठमाडौंको फोहोर उठेको भए देखिदैनथ्यो भनेर ठोकुवा गर्न पनि सकिँदैन । तर, फोहोरले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कन्ट्रिव्युसन चाहिँ गर्छ ।
खासगरी कस्तो अवस्थामा हैजा फैलिन्छ भनेर थाहा पाउने ?
यदि खानेकुराहरुको स्वस्थ अवस्थाको बारेमा हामीले बेवास्ता गर्यौं भने अझ पानीलाई मैले मुख्य स्रोतको रुपमा लिन्छु । हैजाको किटाणु भएको पानीलाई वितरण गर्यौं भने र व्यक्तिगत सरसफाइमा पनि ध्यान दिएनौं भने हैजा फैलिने सम्भावना बढी रहन्छ ।
काठमाडौं उपत्यकाको हकमा हैजा फैलिन नदिन स्थानीय सरकारहरुले कस्तो भूमिका निर्वाह गर्न सक्छन् ?
स्थानीय सरकारहरुले आम जनतामा सचेतनामुलक कार्यक्रमहरु गर्न सक्छन् । हाम्रो जीवनशैलीमा अलिकति ध्यान दिन सक्यो भने हैजाले ल्याउन सक्ने खराब अवस्थालाई रोक्न सकिन्छ । उपचारको लागि अस्पताल र स्वास्थ्य चौकीमा आवश्यक तयारी गर्ने काम पनि उनीहरुले गर्न सक्छन् । हैजा कहाँबाट कसरी फैलिरहेको छ भन्ने कुरा पत्ता लगाउन जरुरी हुन्छ, त्यसको लागि जहाँबाट शुरु भएको छ त्यसलाई त्यहीँ रोक्ने कुरामा स्थानीय सरकारहरुको भूमिका हुनसक्छ ।
उपत्यकाभित्र पिउनको लागि वितरण गरिने पिउने पानी र खाद्य सामाग्रीको स्वास्थ्यको अवस्थालाई पनि नियामक निकायहरुले आवश्यक मात्रामा अनुगमन गर्न सक्छन् । आम मानिसमा हैजा नसरोस् र लाइन साइडबाट कसरी उपचार गर्न सकिन्छ भन्ने पाटोमा स्थानीय सरकाहरुहरुले महत्वपुर्ण भूमिका खेल्न सक्छन् ।
हैजाबाट बच्नको लागि एउटा व्यक्ति तथा परिवारले कसरी सतकर्ता अपनाउनु पर्ला ?
हैजाबाट बच्न धेरै गाह्रो विषय छैन । खानेकुरा एकदमै सफा ताजा खानुपर्याे । पानी एकदमै सुरक्षित ढुक्क हुने खालको पिउनु पर्याे । जुन ठाउँमा हैजा फैलिएको छ । त्यो ठाउँमा लक्षणबिहिन मानिसहरु पनि हुनसक्छन् । सबै ठाउँमा काम गरीसकेपछि, खाना खानुभन्दा अगाडि वा पछाडि राम्रोसँग हात धुने बानी गर्नुपर्छ । यसो गरियो भने हैजा लाग्न र फैलिनबाट रोक्न सकिन्छ ।