गुणस्तर नम्बर भएको सिलबन्दी जारको पानी मात्रै पिउन विभागको अनुरोध
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै खरिद गर्न आग्रह गरेको छ । प्रशोधित पिउने पानी र जारको लेवलमा डिएपटिक्यु नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो । साथै विभागले वर्षायाममा पानीको माध्यमबाट झाडापखाला लगायत विभिन्न रोगका हानीकारक शुक्ष्म जिबाणुहरुको संक्रमण बढ्ने जनाएको छ । संक्रमित पानीको माध्यमबाट रोगको संक्रमण हुने सम्भावना भएकाले स्वच्छ तथा सफा पानी पिउन उपभोक्तालाई विभागले अनुरोध गरेको छ । प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरुलाई पुरा गरेर मात्रै बिक्रीवितरण गर्न विभागले उद्योगीहरुलाई अनुरोध गर्दै अनुमति नलिई बिक्री वितरण गरेको अवस्थामा सूचना गर्न भनेको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नविकरण नगरी पानी बिक्री वितरण गर्नेहरुलाई कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
बाँके । बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । बाँकेका ७६ हजार २३९ लाई खोप लगाउने लक्ष्य लिइएको थियो तर चार दिनको अभियानमा बाँकेका ९५.५ प्रतिशत अर्थात् ७२ हजार ७८८ बालबालिकाले मात्र खोप लगाएका छन् । यही असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन नौ हजार दुई र चौथो दिन ११ हजार ९४७ जना गरी कूल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । “यो खोप असार १२ गतेसम्म भनिएकामा आवश्यक छुटेका बस्तीका बालबालिकालाई लक्षित गर्दै आवश्यकताअनुसार १४ गते पनि स्थानीय तहमा तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ,” फोकल पर्सनसमेत रहेका श्रेष्ठले भने । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका आठ पालिकामा एकैपटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५०८ स्थानमा खोप केन्द्र राखिएको थियो । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो । कोहलपुर र बैजनाथमा शत्प्रतिशत खोप लगाइएको छ । बाँकेमा हालसम्म खोप लगाउने लक्षित समूह चार लाख एक हजार ७९९ मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको सङ्ख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको सङ्ख्या ७१.६ प्रतिशत रहेको छ । बुस्टरको मात्रा लगाउनेको सङ्ख्या भने १८.२२ प्रतिशत मात्रै रहेको छ । कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानअन्तर्गत बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले शत्प्रतिशत खोप लगाएका छन् । कोहलपुर नगरपालिकाका १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १६ हजार ८५३ जनाले खोप लगाएका छन् । यस्तै बैजनाथ गाउँपालिकाका आठ हजार ३४५ जनालाई बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल आठ हजार ३९१ जनाले खोप लगाएका छन् । यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र बिदामा घर आएका बालबालिकासमेत भेटिएकाले उनीहरूलाई पनि खोप लगाइएकाले लक्ष्यभन्दा बढीले खोप लगाएका हुन् । खोप अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खोप प्रगति प्रतिशत ७५.१ छ । यहाँ कूल नौ हजार ३५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको तर कूल सात हजार २७ जना बालबालिकाले खोप लगाएका छन् । खजुरा गाउँपालिकाको खोप प्रगति ७६.९ प्रतिशत छ । यहाँ आठ हजार २२४ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर यहाँका ६ हजार ३२६ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै जानकी गाउँपालिकाको खोप प्रगति ६४.२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको तर जानकीका चार हजार ९४ जना बालबालिकाले खोप लगाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको खोप प्रगति ७६.७ प्रतिशत रहेको छ । नेपालगञ्जका २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल १५ हजार ५२२ ले मात्र खोप लगाएका छन् । खोप अभियानअन्तर्गत डुडुवा गाउँपालिकाको खोप प्रगति ५९.३ प्रतिशत रहेको छ । यहाँ कूल ६ हजार ९८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा कूल चार हजार १४४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यसैगरी नरैनापुर गाउँपालिकाको खोप प्रगति ६२.२ प्रतिशत रहेको छ । यहाँ ६ हजार ३३२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर यहाँका कूल तीन हजार ९६६ जना बालबालिकाले मात्र खोप लगाएका छन् । रासस
अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय
काठमाडौं । विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको सार्वजनिक गरेको हो । अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । ‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौं,’अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरुले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ । नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको जनाएको छ । हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ । विज्ञप्तिका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिनेछ ।