कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् । विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

फेरि थप दुई जनामा हैजा

काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाैँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेकोे बताए । उनका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ । उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए ।

डाक्टर सन्दुक रुइत विश्वका १ सय प्रभावशालीको सूचीमा

काठमाडौं । आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । विश्वको चर्चित पत्रिका ओप्थामोलोजिस्टले डा रुइतलाई सन् २०२२ को विश्वका प्रभावशाली १ सय व्यक्तिको सूचीमा समावेश गरेको हो । म्याग्जिनले डा रुइतलाई सोधेको ३ वटा प्रश्न र त्यसको जवाफ म्याग्जिनको साइटमा प्रकाशन गरेको छ, जहाँ उनले विगत १० वर्षमा आफु स्लिट ल्याम्प र अप्रेटिङ माइक्रोस्कोपसँग बाँचेको बताएका छन् । त्यस्तै, आगामी ५ वर्षमा एआई प्रविधि बलियो बन्ने र गुणस्तरको लागि सत्यनिष्ठा र सम्बन्धित काममा केन्द्रित हुने कुराले गुणस्तर प्राप्त हुने उनले नयाँ पुस्तालाई सुझाव दिएका छन् । ओप्थामोलोजिस्टले वार्षिक रुपमा विश्वका एक सय प्रभावशालीको सुची प्रकाशन गर्ने गर्दछ । सन् २०२२ को १ सय प्रभावशाली व्यक्ति मध्ये अमेरिकाकी ओप्थामोलोजिस्ट प्राध्यापक पल अस्टिन चान्डलर पहिलो भएकी छन् ।