‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा ढकाल
झापा । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए । उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिए । डा ढकालले भने, “छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमाभन्दा अलि बढी यसपाली देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।” “हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ”, उनले भने, “यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ । देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन ।” डा ढकालले किराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह समेत गरे । उनले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताए ।
झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । ‘बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो’, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालनक स्वास्थ्य सहायक कलम निरौलाले भने, ‘एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको । बिहीबार मात्र १०० लाई औषधि दिएर पठाएँ ।’ उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आएका सोही रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए । उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ । उनले स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए । विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेको समेत जानकारी दिए । उनले एक हप्ताको अन्तरालमा झण्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिए । उनले भने, ‘औषधि नै सकियो, विर्तामोडको मिरिका फार्मेसीबाट थप मगाएको छु ।’ मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो भएका धेरै नै बिरामी आइरहेको बताए । उनका अनुसार हाल बालबच्चा र ज्येष्ठ नागरिकहरुमा सो समस्या बढी देखिएको छ । ‘नाइरोवी हो होइन हामीलाई थाहा छैन, आधिकारिक रुपमा पुष्टि भएको छैन’, उनले भने, ‘डढुवा घाउको सङ्क्रमण बढेको छ । गर्मी र वर्षाको समयमा यस्ता समस्या लिएर आउने हुन्छन् तर विगतको भन्दा चाहिँ बढेको छ ।’ स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्यचौकीमा नाइरोवीका बिरामी नआएको जनाएको छ । कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो किराबाट पीडित बनेका बिरामी आउने गरेको जानकारी दिए पनि आधिकारिक स्वास्थ्य कार्यालयमा बुझ्दा कतै पनि बिरामी फेला नपरेको बताए । रासस
बच्चालाई भिटामिनको रूपमा खुवाइने ‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक
काठमाडौं । औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले बिहीबमर सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिकाले विक्री वितरण गर्न रोक लगाइएको जनाएका छन् । उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो । उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो । सूचनामा औषधि ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा विक्री वितरण नगर्न नगराउन र औषधिका रूपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ । हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधिलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ । महानिर्देशक भट्टराईले ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, विक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको जनाएका छन् । रासस