एकैदिन ६३८ जनामा देखियो कोरोना, २ जनाको मृत्यु

काठमाडौं । मंगलबार कोरोनाको ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ५ हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा २१८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३ हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

५ करोड घुस लिएको आरोप लागेका डा. चौरसियालाई स्वास्थ्य मन्त्रालयमा उपस्थित हुन आदेश

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि आज पत्र काटेका छन् । औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो । पत्रमा डा चौरसियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाखको लेनदेनको सरुवा गरेको, पाँच करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो

लिमा । पेरुमा मंकीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । उनले पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो सङ्क्रमण पाइएको भन्दै यो सङ्क्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन् । यहाँ देखिएका यी सङ्क्रमितहरु अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन् । पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको सङ्क्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ । सो संयन्त्रअनुरुप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घन्टा भित्रै दिने गरिएको उनले बताएका छन् । यो सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती सङ्क्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए ।