क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी
हवाना । क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए । रासस/सिन्ह्वा
५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए । बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ । यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् । यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् ।
‘नेपालमा कलेजोमा समस्या अधिकांश मदिराको कारण आउँछ’
चितवन । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उनले भने, ‘कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।’ अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ । उनले भने, “फ्याटी लिभर भएका दैनिक आठ/दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।’ ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन । डा. घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिए । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताए । तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उनले भने, ‘नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।’ लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उनले बताए । चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताए । उनले भने, ‘मदिरा सेवन गर्नेहरूले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।’ मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिए । मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ । रासस