तीजको दर खाएर बिरामी परेपछि…
फाइल फोटो गोरखा । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्,’ उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।’ स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए । बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । ‘केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्,’ उनले भने ।
जापानमा कोरोनाका कारण एक दिनमा ३४३ जनाको मृत्यु
एजेन्सी । जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३४३ जनाको मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ । अघिल्लो दिन ३२७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दुई लाख आठ हजार पाँच सय ५१ जना सङ्क्रमित भएका हुन् । कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएकाले सरकारले फेरि कतिपय गतिविधिहरूमा कडाइ गर्न लागेको छ । मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरु गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा यस सेवाले अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ । यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगै अन्य सरकारी तथा निजी अस्पतालहरुमा समेत उपलब्ध रहेको छ ।