दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार सय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन् ।
रिपोर्टस् क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए ।
निकट भविष्यमा प्रतिष्ठानलाई छ सय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए ।
‘अहिले विकल्प कहाँ खोज्ने,’ उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छन् ।’ यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उनको भनाइ छ ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताए । यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरुपमा दाबी रहने उनको भनाइ छ । रासस