कोरोना सङ्क्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

काठमाडौं । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ । भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा एक सय ५७ जनाको मृत्यु भएको छ । भारतमा हाल ८६ हजार पाँच सय ९१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख आठ हजार एक सय ३२ पुगेको छ । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । शनिबार त्यहाँ दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका थिए । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७४ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन् । एकसय १८ जना बिरामीको अवस्था गम्भीर छ । यसैबीच, मलेसियामा कारोना लागेर पाँच जनाको मृत्यु भएको तथा दुई हजार चार सय ९१ जना नयाँ बिरामी थपिएका छन् । शनिबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३४ हजार पाँच सय आठ जना सक्रिय सङ्क्रमित रहेका बताएका छन् । रासस

डा. गोविन्द केसीले गरे अनसनको घोषणा

काठमाडाैं । डा. गोविन्द केसीले विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै केसीले आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका हुन् । उनले क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।

नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज ६ हजार ६ सय ६६ रुपैयाँँ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ । यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९ हजार ९ सय ९९ रुपैयाँमै खरीद गर्न सकिनेछ । आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् । नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७ हजार ७ सय ७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।