जलेश्वर जिल्ला अस्पतालमा दुई करोड पच्पन्न लाख बढीको उपकरणहरु प्रयोगविहीन
महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो । कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन आएको थिएन तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरु भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए। स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरुलाई कमिशन र कमाईका लागि ती उपकरणहरु किनिएको आरोप लगाए । उनीहरुले जनशक्ति नै थिएन भने ती उपकरणहरु किन किनियो ? भनि प्रश्न गरेका थिए ।
निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैन : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पु¥याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुदद भएको बताए । महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । उनले सकरारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्ने बताए । साथै उनले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने बताए । सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको उनको भनाइ छ । उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताए । उनले भने, ‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदी घटाउन सकेनौँ भने अवस्था गाह्रो छ । हामी बीमा बीमा भनिरहेका छौँ । सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पु¥याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ । सरकारले खालि कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ । त्यसबाट बाहिर निस्किनुपर्छ । नभए हामी गलत बाटोमा जान्छौँ । हामीले स्वास्थ्य बीमाको कुरा गरिरहेका छौँ । यसको आफ्नै धेरै चुनौतीहरु छन् । तर हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो । त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ । त्यसैले अब सरकारले यस विषयमा सोचेन भने कि, पैसा मैले मेरो खल्तीबाट हाल्नुपर्ने हो भनेर सोचेन भने स्वास्थ्य सुरक्षाको अवस्था गाह्रो छ । त्यसैले हामीले स्वास्थ्य सिस्टमको क्षेत्र भनेको सकेसम्म मैले खर्च कम गर्नु परोस् भन्ने हो । खर्च गर्नसक्ने अनुसारको हेल्थ सिस्टम डिजाइनबारे सरकारले सोच्नुपर्छ । सकरारले सकेसम्म मानिस अस्पताल नपुगोस् भन्ने सोच्नुपर्छ । सरकारले खर्च गर्ने पैसा घटाउन सकेमात्र स्वास्थ्य सिस्टम जोगाउन सक्छ । त्यसको निम्ति स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर सिस्टम क्रिएट गर्न सकेन भने अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा हुन सक्दैन ।’ महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने बताए ।
पनौती नगरपालिकाले मोतीबिन्दुको उपचार निःशुल्क गर्ने
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ । नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताए। उनले भने ‘अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।’ अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ । अस्पतालले यसअघि आँखामा लाग्ने मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेपलाञ्चोकको बनेपा नपा, नमोबुद्ध नपा र बेथानचोक गाउँपालिकासँग सम्झौता गरिसकेको छ । यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धनुषाको मिथिला नपा, छिरेश्वर नपा र कमला नपासँग पनि अस्पतालले सम्झौता गरेको जनाइएको छ । अस्पतालकै सहयोगमा दुई साताअघि पनौती–५ मा आँखा शिविरको आयोजना गरी चारसयको आँखा परीक्षण गरेमध्ये सो रोग लागेको देखिएका करिब एक दर्जन वृद्धवृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो । वडा कार्यालयले ती वृद्धवृद्धाको बनेपास्थित उक्त अस्पतालमा उपचारार्थ आवतजावतका लागि यातायात व्यवस्था गरेको थियो । आँखा विशेषज्ञका अनुसार मोतीबिन्दु रोग मधुमेह तथा हाइपरटेन्सनजस्ता रोग, बढ्दो उमेर, जलबिन्दु, पोषण तत्वको कमी, चिनी रोग, जन्मजातरूपमा वा आँखाको अन्य समस्याका लागि गरिएको शल्यक्रिया, वंशाणुगत, शिशु जन्मनुभन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सन, चोटपटक, घामको विकीरण, आँखाको पानीको खराबी तथा धूमपानका कारण लाग्ने गर्दछ ।