२०६ जनामा देखियो कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । एकैदिन २०६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ८६९ जनामा परिक्षण गर्दा २०६ जनामा संक्रमण देखिएको छ । आज ३९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ भने ९८ हजार ४४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटीस्क्यान’ सेवा सुरु

झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भने, ‘पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुने छ ।’ क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उनले भने, ‘अब हामीले नै पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।’ उनका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ । ‘क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ’, भारतको मेदान्त अस्पतालमा सेवा गरिसक्नु भएका डा यादवले भने, ‘उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।’ क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो । ४५ हजारमा ‘पेट सिटी स्क्यान’ अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई ४५ हजारमै उपलब्ध गराउने उनको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ । ‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा यादवले जानकारी दिए । कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिए । उनका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । ‘क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ’, डा उपाध्यायले भने, ‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।” उनले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताए । उनले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिए । उनका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् । रासस

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्षमा पुनः दीपक कुँवर

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औं साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुन् । यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् ।