झापामा निःशुल्क डायलासिस, पालो कुर्नुपर्दैन

झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहनु भएको छ । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन ।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउँछन् । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हँुदा उनले शुल्क तिर्नुपरेको छैन । झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् । जिल्लामा मिर्गौलाका बिरामीको सङ्ख्या यसको दोब्बर रहेको अनुमान गरिए पनि अरुहरुले झापा बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोवेल मेडिकल कलेज र भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डायलासिस सेवा लिइरहेको पाइएको छ । उपकरणको सङ्ख्या थोरै भएका बेला केहीवर्ष अघिसम्म निःशुल्क डायलासिसको पालो पाउन अर्को बिरामीको मृत्यु कुर्नुपर्ने दुःखदायी अवस्था थियो तर अहिले डायलासिस उपकरण पर्याप्त मात्रामा थपिएका कारण पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो । यसबाहेक विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले रोटरी क्लब अफ मिडटाउनको सहकार्यमा सात वटा डायलासिस उपकरण एक वर्षदेखि सञ्चालनमा ल्याइरहेको छ । निःशुल्क सेवा प्रदान गर्ने अस्पतालको सूचीमा दर्ताको प्रक्रिया चलिरहेका कारण हाल यहाँबाट सरकारले तोकिदिएकै दुई हजार रुपैयाँ पाँच सयमा डायलासिस सेवा दिइरहेको विर्तामोडस्थित रोटरी क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताउँछन् । झापामा सबैभन्दा धेरै १६ वटा उपकरण राखेको ओमसाई पाथिभरा अस्पतालमा नियमित एक सय पाँच बिरामीले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेका छन् । ‘अन्य अस्पतालले दिनको दुई चरणमा सेवा दिइरहेका छन्, हामीले नियमित दैनिक तीन चरणमा सेवा दिइरहेका छौँ,’ ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल भन्छन्–’यहाँ कुनै पनि बिरामीले पालो कुर्नुपर्दैन । कसै–कसैले हप्तामा तीन पटकसम्म सेवा लिइरहेका छन् ।’ उक्त अस्पतालले निकट भविष्यमा दमक, इटहरी, लहान र बर्दिबासमा शाखा सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने योजना बनाइरहेको उनी बताउँछन् । विसं २०७१ सालदेखि उक्त अस्पतालमा डायलासिस सेवा उपलब्ध छ । सरकारी स्वामित्वको मेची प्रादेशिक अस्पतालमा १३ वटा उपकरण राखेर मिर्गौलाका बिरामीको डायलासिस भइरहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउँछन् । उनका अनुसार अस्पतालमा नियमितरुपमा ६० जनाले डायलासिस सेवा लिइरहेका छन् । विगत केही वर्षदेखि काठमाडौँको बिराङ हेल्थ केयर नामक निजी संस्थासँगको व्यवस्थापकीय सहकार्यमा डायलासिस सेवा सञ्चालन भइरहेकामा गत महिनादेखि साझेदार हटाएर अस्पताल आफैले सेवा प्रदान गरिरहेको छ । मेची अस्पतालमा पनि डायलासिस सेवा लिन बिरामीले पालो कुर्नुपर्ने विगतको जस्तो अवस्था अहिले नभएको र बिरामीले सबै सेवा निःशुल्क प्राप्त गर्ने सूचना अधिकारी मनोज पोखरेल उल्लेख गर्छन् । अस्पतालको सङ्ख्या धेरै भएको जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पताल मात्र निःशुल्क डायलासिस सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयमा सूचीकृत छ ।हाल उक्तअस्पतालमा पाँच वटा डायलासिस उपकरण छन् । नियमित डायलासिस गराउने बिरामीको सङ्ख्या २७ पुगेको छ । अस्पताललाई निकट भविष्यमा नयाँ भवनमा सर्ने र त्यहाँ थप उपकरण राखेर सेवा बढाउने अस्पतालको तयारी रहेको व्यवस्थापन पक्षले जनाएको छ । विर्तामोडमा बीएन्डिसी, कनकाई, सञ्जीवनीलगायत निजी अस्पताल सञ्चालनमा छन् तर मनमोहन सामुदायिक अस्पतालले रोटरीसँगको सहकार्यमा सरकारी दररेटमै डायलासिस सेवा दिइरहेको छ । अरु अस्पतालले शुल्क लिएर मात्र डायलासिस सेवा प्रदान गर्दै आएका छन् । सातामा तीन पटक डायलासिस गराइरहेका अर्जुनधाराका भुपिन राई दुई पटकको निःशुल्क र शुक्रबार एक पटकको भने चार हजार रुपैयाँ तिरिरहेको बताउँछन् । “दुई पटकको मात्र पैसा लाग्दो रहेनछ, एक पटकको हप्तैपिच्छे तिर्दै आएको छु,” उनी भन्छन्, “आर्थिक अभावले मिर्गौला प्रत्यारोपण गर्न सकिएन, यही डायलासिसले आठ वर्षदेखि बाँचिरहेको छु।” सरकारले डायलासिस निःशुल्क गरिदिएपछि विपन्न मिर्गौलाका बिरामीका लागि सहज भएको राई बताउँछन् । चन्दा सहयोगले पनि नपुगेपछि मिर्गौला उपचारकै लागि बिरामी अवस्थामा लामो अवधिसम्म अटोरिक्सा चलाउनु भएका उनको स्वास्थ्य खस्किँदै गएकाले हाल रिक्सा चलाउन छाडेको उल्लेख गर्छन् । निःशुल्कका लागि कागजपत्र नबनाउँदाको अवस्थामा नयाँ बिरामीले एक पटक डायलासिस गर्दा सेवा शुल्क दुई हजार पाँच सय रुपैयाँ देखि चार हजार रुपैयाँ सम्म अस्पताललाई बुझाउनुपर्ने हुन्छ । नयाँ बिरामीले डाइलेटर, फिल्टरलगायत आवश्यक सामान किन्नुपर्ने हुन्छ तर सरकारबाट निःशुल्क सेवा पाउने पत्र पाइसकेका बिरामीले फिस्टुला बनाउँदा बाहेक कुनै शुल्क तिर्नु नपर्ने ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल बताउँछन् । मिर्गौलाले काम नगर्ने भएको चिकित्सकको प्रतिवेदनका आधारमा स्थानीय तहले सिफारिस दिने र सोही सिफारिस स्वास्थ्य मन्त्रालयमा दर्ता गराएपछि बिरामीले निःशुल्क डायलासिस सेवा पाउने व्यवस्था छ । पछिल्लो समय सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई औषधि उपचार र जीविकाका लागि मासिक पाँच हजार रुपैयाँ दिने नीति लागू गरेको छ । निःशुल्क डायलासिस र मासिक उपचार सहयोगले मिर्गौला बिरामीको जीवन बचाउन ठूलो मदत पुगेको छ । रासस

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी

चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा सङ्क्रमण देखिएको हो । साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको हो । यहाँ परीक्षण गर्दा नमूनामा शङ्कास्पद देखिएपछि नमूनालाई काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंकाे अनुसार सङ्क्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालको सघन उपचार उपचार भइरहेको छ । माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको उनले जानकारी दिए । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको प्रमुख चापागाईंले बताए । हाल उक्त रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् । देशभर सङ्क्रमितको सङ्ख्या ४५ छ । उनका अनुसार बागमती प्रदेशमा यो सङ्ख्या १८ पुगेकामा नौ जना चितवनमा देखिएको हो । सन् २०२० र २०२१ मा जिल्लामा यो सङ्ख्या एक एक जना थियो । सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । प्रमुख चापागाईंले भने, ‘सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।’ सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानीज इन्सेफ्लाइटिसको बिरामी देखिँदा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङक्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको उहाँको भनाइ थियो । स्वास्थ्य सङ्गठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानितभन्दा बढी जापानीज इन्सेफ्लाइटिसका बिरामी देखिएमा त्यसलाई महामारी भन्ने गरेको छ । नेपालको इतिहासमा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो । सन् २००४ मा देशव्यापी रुपमा खोजपडताल अभियान गरिएको थियो । सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय रुपमा अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम (क्याम्पियन) गरिएको थियो । सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाइँदै आइएको छ । रोग देखिएका बिरामीमध्ये एक तिहाईको निको हुने, एक तिहाई अपाङ्ग हुने र एक तिहाइको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ । यो रोग अप्रिल/मे देखि सेप्टेम्बर/अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए । क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा सुङ्गुर, बङ्गुर र हाँस पालिएको ठाउँ वरिपरी रहँदा विशेष ख्याल गर्न र रोगको आशङ्का भएमा तत्काल उपचार गर्न आग्रह गरे । कार्यालयले बिरामीको सङ्ख्या एकाएक बढेपछि अस्पताल र पालिकाका स्वास्थ्य प्रमुखसँग आज छलफल गरी तत्काल तथ्याङ्क कार्यालयमा पठाउने व्यवस्था मिलाउन र आशङ्का देखिएका बिरामीलाई उपचारको प्रबन्ध मिलाउने विषयमा छलफल गरेको छ । सो अवसरमा विश्वस्वास्थ्य सङ्गठनका यस क्षेत्रमा कार्यरत कर्मचारीको पनि उपस्थिति थियो । स्वास्थ्य सङ्गठनले पछिल्ला दिनमा रोग देखिएका बिरामी र तीनका परिवारलाई भेटघाट गरी अवस्था बारेमा बुझ्ने काम गरिरहेको छ । जापानीज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सुङ्गुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावरलाई व्यस्थित ढङ्गले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । रासस

सिकलसेल एनिमिया: महँगो उपचार खर्च, औषधी पाउन पनि मुस्किल

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै १७ लाख रुपैयाँ खर्च गरिसकेका छन् । एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित थिए । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उनलाई निकै समस्या हुने गरेको छ । ‘एक त सिकलसेलको उपचार गर्दा लाखौँ खर्च गरेको पीडा छ’, उनले भने, ‘अर्कातर्फ सहजै औषधि पाइदैन ।’ सिकलसेल लागेका उनलाई कहिल्यै खुट्टा दुख्ने, कहिल्यै हात, छाती, पेट दुख्ने समस्या हुन्छ भने कहिले श्वास फेर्न गाह्रो हुन्छ । लाखौँ खर्च भइसकेकाले अब कसरी उपचार गर्ने भन्ने उनलाई सताउने गरेको छ । उनीमा महिनामा दुई–तीनपटक बिरामी हुने गर्छन् । उनका घरपरिवारलाई पनि कसरी खर्च व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । ‘घरमा भएको जति सबै पैसा सकियो’, प्रदीपकी आमा सुन्द्रीले भनिन्, ‘अहिले प्रदीपका बुवा पैसा कमाउन भनेर काठमाडौँ गएका छन्, त्यतै पलम्बरको काम गर्छन् ।’ त्यस्तै दङ्गीशरण गाउँपालिका–४ निवासी पवित्रा चौधरीलाई पनि सिकलसेल छ । उनलाई सिकलसेल भएको दुई–तीन वर्ष भयो । उनीमा सिकलसेल देखियो, त्यसपछि नियमित औषधि खाइरहनुपर्छ । औषधि खाँदा–खाँदा पैसा सकिएको उनले बताईन् । ‘पटक–पटक बिरामी भइरहन्छु, नियमित औषधि खाइरहनु पर्छ’, उनले भनिन्, ‘राज्यले औषधिमा सहुलियत गरिदिए धेरै सहज हुन्थ्यो ।’ उनलाई पेट दुख्ने, वाकवाकी लाग्ने हुन्छ । उनका दुई वर्षीय छोरामा पनि सिकलसेल एनिमिया देखिएको छ । छोरालाई पनि पटक–पटक ज्वरो आउने हुन्छ । त्यस्तै तुलसीपुर–६ वनकट्टी निवासी प्रदीप चौधरीले पनि सिकलसेल एनिमियाकै उपचारका लागि २७ लाख रुपैयाँ खर्च गरिसकेका छन् । ‘मेरो २७ लाख उपचारमै खर्च भएको छ’, उनले भने, ‘अब कसरी उपचार गर्ने भन्ने चिन्ता थपिएको छ ।’ यी त केही उदाहरणमात्रै हुन् । थारू स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय अध्यक्ष जीवराज चौधरीका अनुसार दाङमा मात्रै करिब २४ हजार यस्ता रोगी भएको रहेका छन् । ‘अहिलेसम्म यसको खास तथ्याङ्क त कसैले राखेको छैन, तर थारूहरूको जम्मा जनङ्ख्याको १२ प्रतिशतमा यस्तो रोग देखापरेको भनी सरकारले स्वीकारेको छ’, उनले भने, ‘दाङमा जनगणना २०७८ अनुसार करिब दुई लाख जनसङ्ख्या छ, त्यसका आधारमा अहिले पनि २४–२५ हजार सिकलसेलका बिरामी छन् ।’ अहिले धेरै जनाको त ‘स्क्रिनिङ’ नै हुनसकेको छैन । यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुनसकेको छैन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरम स्क्रिनिङका लागि मेसिन रहे पनि उल्लेख्य मात्रामा मानिस आउने गरेका छैनन् । अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक सय १८ जनाले औषधि खाइरहेका छन् भने थारू सङ्घले १९ जनालाई दिइरहेको छ । यसको उपचार पनि सम्भव छैन । सङ्घका अध्यक्ष चौधरीका अनुसार लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । निको नहुने तर, उपचार गरिरहनुपर्ने अवस्था छ । बोनम्यारो प्रत्यारोपण गरे उपचार सम्भव हुने भए पनि त्यो निकै खर्चिलो रहेको उनको भनाइ छ । बोनम्यारो प्रत्यारोपणका लागि २०–२५ लाख रुपैयाँ खर्च लाग्छ । राज्यले औषधिका लागि पनि सहज बनाउनुपर्छ । ‘यदि भेरी अस्पतालमा सिकलसेल एनिमियाको पुष्टि भएमा भेरीबाटै औषधि लैजानुपर्ने अवस्था छ, यसले निकै समस्या पारेको छ । लकडाउनको समयमा सात सय रुपैयाँको औषधि ल्याउन सात हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था भयो’, उनले भने, ‘त्यसैले पहिचान जहाँ भए पनि पायक पर्ने स्थानबाट औषधि लैजान मिल्ने व्यवस्था गरिदिनुपर्छ ।’ अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित स्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरिएको छ । थारू समुदायमा लाग्ने यो रोगबाट धेरै जना पीडित भएको हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगीको यकिन तथ्याङ्क नभएको उनको भनाइ छ । यसका लागि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि त्यति चासो देखाएको छैन । थारू समुदायमा यो रोग भयावह भए पनि सीमित बजेटले गर्दा प्रभावकारी काम हुनसकेको छैन । ‘हामीले विगतमा पनि सिकलसेलका लागि बजेट छुट्याएका थियौँ, यसपटक पनि छुट्याएका छौँ’, दङ्गीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर वलीले भने । के हो सिकलसेल एनिमिया चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोविनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल भएपछि रगतको कोशिकाले हँसियाको आकार लिन्छ र त्यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ । यसले गर्दा कलेजो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ । त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्कघात हुनसक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ । स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएका व्यक्तिको हँसिया आकारको हुन्छ । सामान्यतया सेलको आयु एक सय २० दिनको हुन्छ, तर सिकल भएको हँसिया आकारको सेलको आयु २१–२२ दिनको हुन्छ । त्यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांशपेसी र जोर्नीमा धेरै पीडा हुन्छ । कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ । सिकलसेलमा व्यक्तिपिच्छे फरक–फरक लक्षण देखिन्छन् । हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ, तर धेरै सङ्ख्यामा थारूहरूमा देखिएको छ । यो रोग थारू समुदायमा मात्रै हुन्छ भन्नु गलत भएको विशेषज्ञ बताउँछन् । उक्त रोगको पूर्ण उपचारका लागि सबै थारू समुदायको रगत परीक्षण गरी लक्ष्यअनुसार उपचार गर्न सकिने थारु स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष चौधरीले बताए । साथै यो रोग न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ । आमाबाबुबाट बच्चामा सर्ने भएकाले सिकलसेल भएका बिरामीले विवाह नगर्ने र यदि गरे पनि बच्चा नजन्माउने उनले बताए । त्यस्तै सिकलसेल एनिमियाको वाहक भएकाले अर्को वाहक भएकासँग विवाह नगर्नसमेत उनले सुझाव दिए । दुवै वाहक भएमा बच्चामा सर्न सक्ने उनको भनाइ छ । तर वाहक भएकाले सामान्य व्यक्तिसँग विवाह गर्दा बच्चामा नसर्ने उनको भनाइ छ । रासस