
एजेन्सी । अहिले धेरैजसो मानिसको जीवन निकै व्यस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा या त हामीलाई व्यायाम गर्ने समय मिल्दैन वा हामी त्यसबाट भाग्छौं। यदि तपाईको पनि यस्तै अवस्था छ भने अमेरिकाको सिड्नी विश्वविद्यालयले तपाईको लागि खुसीको खबर ल्याएको छ । नयाँ अध्ययनका अनुसार हरेक हप्ता मात्र १० मिनेटको कडा व्यायाम गर्दा आयु लामो हुन सक्छ ।
व्यायाममाथि अनुसन्धान
अनुसन्धानकर्ताहरूको टोलीले युके बायोबैंकका ७० हजारभन्दा बढी मानिसको डाटा विश्लेषण गरेको थियो। उनीहरुको उमेर ४० देखि ६९ वर्षको बीचमा थियो र उनीहरुलाई क्यान्सर वा हृदय रोग थिएन। अध्ययनका सबै सहभागीहरूलाई एक्टिभिटी ट्र्याकर लगाउन भनिएको थियो। यससँगै एक सातासम्म उनीहरुको शारीरिक गतिविधिको जानकारी संकलन गरिएको थियो ।
त्यसपछि वैज्ञानिकहरूले औसत ७ वर्षसम्म सबै सहभागीहरूको स्वास्थ्य रेकर्डलाई फलो गर्ने काम गरे। यस अवधिमा उनीहरुको कडा व्यायाम, क्यान्सर र मुटुरोगजस्ता गम्भीर रोग र मृत्युको सम्भावनाबीचको सम्बन्धलाई निगरानी गरिएको थियो ।
फुर्तिलो कसरत के हो ?
बेलायतको नेशनल हेल्थ सर्भेका अनुसार कडा व्यायाम भनेको कुनै पनि शारीरिक गतिविधि हो, जसमा व्यक्तिको श्वासप्रश्वास छिटो हुन्छ। यस्तो क्रियाकलाप गर्ने व्यक्तिले एकैपटक धेरै शब्दहरू उच्चारण गर्न नसक्ने गरी फेरि बोल्नको लागि बीचमा सास फेर्छ। यसका उदाहरणहरूमा पौडी खेल्ने, पहाडमा साइकल चलाउने, सीढी चढ्ने आदि समावेश छन्।
अनुसन्धानको नतिजाले के भन्छ ?
बैज्ञानिकहरुका अनुसार आरामका साथ व्यायाम गर्नुको सट्टा जोसका साथ व्यायाम गर्दा मानिसको स्वास्थ्यमा सुधार आउने गरेको पाइएको छ । यदी तपाईं छोटो समयमा छिटो व्यायाम गर्नुहुन्छ भने तपाईंको स्वास्थ्यलाई निकै फाइदा हुन्छ । अध्ययनमा सहभागी व्यक्तिहरू जसले व्यायाम गरेनन् उनीहरुमा ५ वर्ष छिटो मर्ने जोखिम ५ प्रतिशत देखियो भने सोही समयमा हप्तामा एकपटक १० मिनेट फुर्तिलो व्यायाम गर्नेहरुलाई २ प्रतिशत र ६० मिनेट व्यायाम गर्नेहरुलाई १ प्रतिशत मात्रै जोखिम देखियो । भास्कर दैनिकबाट ।