डा रुइतलाई बहराइनमा १० लाख डलरको ‘इसा अवार्ड’ प्रदान

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्र्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए । उनका अनुसार बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गरेका हुन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो । उक्त अवार्डका लागि १४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम ६ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका हुन् । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । डा.रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।

हात्तीपाइले रोगको उच्च जोखिममा मधेस प्रदेश 

महेन्द्रनगर । मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा रहेको हातीपाइले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवले बताए । जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए । उनका अनुसार ती देशमा पाँच करोड १४ लाख हात्तीपाइले रोगका सङ्क्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्ममा उन्मूलन गर्ने लक्ष्यसहित सङ्क्रमित मुलुकमा सङ्गठनले निःशुल्करुपमा औषधि प्रदान गरेर अभियान सञ्चालन गरिएको हो । नेपालमा पनि हात्तीपाइले रोगीको सङ्ख्या ३० हजार रहेको र नेपालमा पाइने रोगीमध्ये धेरै रोगी तराई मधेसका जिल्लामा नै हुने अनुमान गरिएको अधिकृत दासले बताउनुभयो । मधेस प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदा पनि रोगी फेला पर्न रोकिएको छैन । यस पटक अभियानको रुपमा नै फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाउन थालिएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत दासले बताए । धनुषाका १८ वटै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको स्वास्थ्य कार्यालयका अर्का अधिकृत रामबाबु ठाकुरले जानकारी गराए । यस पटक खुवाइने आइभरमेक्सन, डाइफाइक्यावामिर्जान र एल्मेडाजोल निक्कै प्रभावकारी भएको स्वास्थ्य उनले बताए । एकै पटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको ठाकुरले उल्लेख गरे । औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकालाई कुनै प्रकारको स्वास्थ्य समस्या आउने छैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाइरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको छ । यस्तो प्रभावित हुनेको सङ्ख्या एक लाखमा एक जनासम्म हुने स्वास्थ्य कार्यालयले जनाएको छ । धनुषाको जनक चोकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने र औषधिसहितको स्वास्थ्यकर्मी धनुषाको १८ वटै पालिकामा परिचालन गरिएको छ । मधेस प्रदेशका आठवटै जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या निक्कै रहेको र यसको विस्तृत सर्भे चैतदेखि सुरु गरिने भएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस

नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर

काठमाडौं । नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै रहेको छ । नेपाल मेडिकल काउन्सिलमा २०२२ डिसेम्बर अन्त्यसम्म दर्ता भएका चिकित्सा पेसाको संख्याले नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै देखिएको हो । तथ्यांकअनुसार २०२२ को ३१ डिसेम्बर सम्म काउन्सिलमा एमबिबिएस गरेका २७ हजार आठ ८०५ जना चिकित्सक दर्ता भएका छन् । जसमध्ये १८ हजार ५२० जना पुरुष र नौ हजार २८५ जना महिला चिकित्सक दर्ता भएका छन् । त्यस्तै, काउन्सिलमा सोही समयसम्म विशेषज्ञ चिकित्सकहरु १० हजार ८० जना दर्ता भएका छन् । जसमध्ये एमडी÷एमएस गरेका पुरुष चिकित्सक ६ हजार सात सय १४ जना र दुई हजार ६२५ जना महिला चिकित्सक रहेका छन् । त्यस्तै, एमडीएस गरेका तीन सय ९६ जना पुरुष चिकित्सक र तीन सय ४५ जना महिला चिकित्सक रहेको काउन्सिलको तथ्यांकले देखाएको छ ।